चोखो पानी : रमेशचन्द्र घिमिरे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
‘जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।’ नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछि पछि लाग्नेले पनि सँगसँगै फलाके, ‘…….चाहिँदैन, चाहिँदैन ………… पाइँदैन, पाइँदैन ।’
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्– ‘अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुुपर्छ ।’
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनी दिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागिन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
राति धेरै बेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्– ‘ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।’
रामकुमारी भन्दै थिइन्– ‘अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?’
‘किन त नि दिदी ?’ सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदा नभ्याउँदै काखीमा पानीको गाग्री च्याप्दै रामकुमारीले भनिन्– ‘बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ….’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।