असारको स्वागत : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
बल बल्ल जुट्यो जलको बलले
बल भर्छु भने भल बादलले
दिनले नदिई सम सार कहाँ ?
सब मख्ख खुलेर असार यहाँ ।
जब गृष्म थियो सब धप्प धरा
धरती तल थ्यो जलहीन बरा
नत पङ्ख थिए नभकासँगमा
सब मख्ख खुलेर असार यहाँ ।
तनमा मनमा अनि त्यो वनमा
थपियो हरियो रङ यौवनमा
भव सार अपार छ पुग्छ कहाँ ?
सब मख्ख खुलेर असार यहाँ ।
सपना बलको बलियो छ हुँदै
रचना रसको भरिएर खुबै
छ किसान महान् मनको धनमा
सब मख्ख खुलेर असार यहाँ ।
पहरा हरिया लहरासँगमा
बरु जिस्क गई छहरासँगमा
विरुवा, उठ रोप न रोप नयाँ
सब मख्ख खुलेर असार यहाँ ।
अब सल्ल सलल्ल छ यो दुनियाँ
अनि झल्ल झलल्ल छ यो मुनियाँ
गर काम उठीकन भुल्नु कहाँ
सब मख्ख खुलेर असार यहाँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।