कुन्तीको सन्देश : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ४।
आपसी झगडा टण्टा हुदा पाण्डवकौरव
युद्धका निम्ति तैयार भएर निस्किए जव
शान्तिका निम्ति प्रयास धेरै धेरै भएपछि
अन्तिम् प्रयासका लागि खट्नुभो कृष्णजी पनि ।।१।।
भगवान् कृष्णले धेरै प्रयास गरीसक्नुभो
तापनिशान्तिको ढोका खुलेन फर्कनुपर्यो
फर्कनु अघि कुन्तिको सन्देश जव माग्नुभो
माताको दिव्य सन्देश साँच्चै महत्वको थियो ।।२।।
अल्छी कायर छोराले जन्मनु पनि व्यर्थछ
आमाका देशका निम्ति सुयोग्य हुनु पर्दछ
तेज उत्साहवाला शूरवीर देश सेवक
परोपकारी पुन्यत्मा धार्मिक हनु बेस छ ।।३।।
मान्छे भएर जन्मेर वीर कर्मठ बन्नु रे
विनाकर्म कसैले नि बाँच्ने आशानगर्नु रे
कर्ममा कठिनाइ वा विघ्न वाधा भएपनि
जुक्तिका बुद्धिका साथ चल्नुबढ्नु अघि अघि ।।४।।
म धर्ममा सदा रम्छु धर्मनै कर्म मान्दछु
प्रजाको देशको हितयसमै छ म जान्दछु
छोराले धर्म धान्नु छ यहि सन्देश दिन्छु म
सुुपुत्रले त्यसै गर्छन् यहि विश्वासमा छु म ।।५।।
हे कृष्ण ! म यहि भन्छु मेरा पुत्रहरूकन
जित्नै पर्दछ यो युद्ध सुशासन दिलाउन
तिम्रो साथ मिली राखोस् हे प्यारा मधुसूदन !
धर्म रक्षा भईराखोस् नपाओस् पाप फैलिन ।।६।।
चिन्ता रत्तीभरी छैन जुवावा राज्य हारियो
बनबास हुदा दुःख भएका पनि टारियो
परन्तु त्यो सभा विच द्रौपदीको रुवाइको
काँडो आइ मुटु घोच्छ शरीर काम्छ सत्य हो ।।७।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक