लोहोराको कथा :रमेशचन्द्र घिमिरे (बालकविता)
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
वनको बाटो गुडुल्क्याउँदै पहिराले ल्यायो
पहिराले ल्याएपछि खोलैखोला आयो
सुस्त सुस्त पाइलाचाल्दै कहिले छिटो कुद्दै
पानीचालमा सँगै–सँगै बिस्तार बिस्तार गुड््दै
घोटिएर, घिस्रिएर पल्टाबाजी खायो
पल्टाबाजी खाएपछि खोलाछेउ आयो
लाम्चो–लाम्चो गोलो ढुङ्गो देखी बगरमा
कर्मी दाइआउँदा–आउँदै पर्यो नजरमा
त्यही ढुङ्गा लोहोरो बन्यो जब छिनो लायो
छिनो लाइसकेपछि अनि गाउँमा आयो
बाले मन पराउनुभो जब देख्नुभयो
सिलौटालाई साथी बन्न सुहाउने छ यो
कर्मी दाइले बेचेपछि बाको साथपायो
बाको साथ पाएपछि हाम्रो घरमा आयो
सिलौटालाई थाहाभयो भन्यो, ‘आऊ साथी
बास बस्न पाउँछौ तिमी मेरै छातीमाथि’
यै खुसीमालोहोराले मिठो गीतगायो
मिठो गीत गाएपछि दैलाभित्र आयो
लोहोराले सिलौटाको साथपायो जब
अदुवा र लसुनपिन्न सजिलो भो अब
लोहोराको मनमा बल्ल खुसियाली छायो
खुसियाली छाएपछि भान्छाघरमा आयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक