वात्सल्य र युद्ध : शान्ति रिसाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १३ ।
नौ महिने गर्भले मात्र होइन
म भित्रको जिजीविषाले केबल छोएन
आत्मविश्वासका मेरा सिर्जनाहरुले
तानेका थिए जीवनका तन्तुलाई
ललकारेका थिए युद्ध ओढ्ने क्रुर जन्तुलाई
के पत्तो नदीको बहाव
जीवनको गतिशील प्रवाह
निस्याइलो भविष्यमा ठोक्याए पनि
गाजल भन्दा कालो क्यानभासमा
इन्द्रेणी रङ्ग लत्पताए पनि
बम र बारुद्ध भन्दा कडा प्रहार
जीवन र विश्वास बीचको ललकार
झेल्दै, छिचोल्दै एउटी नारी
विशाल धरा
उद्धेलित जलनिधि
झ्याप्पै पारगरी
समात्छे च्याप्पै
आमा एउटी
नदीमाथि आगो उमार्न–पर्यावरणमा सुन्दर सिर्जना
सुन्दर सृष्टि
अपार वात्सल्य वृष्टि
भयङ्कर युद्ध रित्तिन्छ
सधैँ सधैँ खोक्रो भएर
निस्सार र निरीह समयले धोक्रो भरेर
वर्तमानमा पनि युद्ध चलिरहेछ चलिरहेछ
नदिमाथि आगो बलिरहेछ बलिरहेछ ।
सायद हात लागयो शुन्य पर्खेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक