खोइ ! कस्तो नयाँ ? : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १३ ।
के नयाँ?
कस्तो नयाँ?
पुरानो र नयाँमा भेद देख्नेले
समानताको बाँसुरी
कसरी फुक्न सक्छ ?
पुरानोको निरन्तरता बिना
नयाँको परिकल्पना सम्भव छ र ?
यदि भिन्न बैभव बोकेर
कुनै चिज आउँछ भने
गौरवपूर्ण इतिहासको
श्रृङ्खलामा नवीन
खुट्किला थपिनुपर्छ,
एउटा युगको
जाज्वल्यमान इतिहास
र ज्ञानको
घाँटी यसरी निमोठेर
हामी कस्तो नयाँनेपाल
खोजिरहेछौँ ?
कस्तो समृद्धिको
सपना बाँडिरहेका छौ ?
इतिहास र राष्ट्रवादमा पनि
नयाँ र पुरानोको सिमारेखा कोरिन्छ र ?
अग्रगमन छलाङ मार्न
कुन धरातलमा टेकेर
फट्किन खोज्दैछौ ?
देश भनेको सिमाना र
नक्सा भित्र मात्रै होइन ।
सदियौंदेखि संरक्षित
पहिचानर संस्कृतिका
जड, बैभव उत्खनन् गरेर संरक्षित
इतिहासमा, जातीयता
र साम्प्रादायिकताको राँको झोसेर
कस्तो खाले नयाँनेपाल
बनाउदै छौँहामी?
एकपटक आफ्नै मनलाई
पखालेर सोधिहेरौँ त ।
समयका बहादुरीहरूलाई
खोजमूलक अभिलेखिकरण गर्दै
परिवर्तनका हरेक कापहरूमा
फड्को मार्दै
आधुनिक सभ्यताको गन्तव्य निहाल्ने
विज्ञान हो इतिहास ?
त्यहि इतिहासको ज्ञानले
विज्ञान जन्माउँछ,
के विज्ञानले,
ज्ञान मार्नु परिवर्तन हो त ?
यहि ज्ञानको,
इतिहासलाई स्वार्थको मण्डीमा बिक्री गर्ने
रद्दी दिमागका हे ! मांसपिण्डहरू हो
अब चाँडै
चित्ताबाट उत्रिएर मुर्दा पनि चिच्याउनेछ
आखिर, तिमीले मृत ठानेर
श्मसानघाटमा मिल्काएको इतिहासले
तिम्रो रद्दी कानको जाली फुट्ने गरी
चिच्याउने छ याद राख ।
अनि तिम्रो बद्नियतपूर्ण परिवर्तनलाई
त्यहि चिहानमा खरानी बनाउनेछ
बुझिराख !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक