“अर्थ, संकट र रोजगार”
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ११/अमर प्रकाश तिवारी
गत महिना अमेरिकी बजारमा रोजगारीको वृद्धि अपेक्षा गरे भन्दा कम भयो । श्रम सचिब मार्टि वाल्सले रोजगारको क्षेत्र सागुरेको छ, अर्थतन्त्रमा पनि संकट आउने संकेत छ, तर यो मन्दी वा मुद्रास्फृति भने होइन भन्दै आस्वासन दिएका छन् । वाल्स काे उक्त भनाई के हो भने “भण्डार रित्तियो अब प्रभुको कृपा बाकी छ” भनेको जस्तै हो ।
यता विश्वका अर्थविद्हरु एकपटक ध्यान केन्द्रित हुँदै आउने चुनौती र सम्भाब्य समाधान तर्फ मार्ग पैल्याउने प्रयास गर्दैछन् । यद्दपि, वाल्सले अर्थतन्त्रमा आउने संकटको त्रास भने विश्वमा फैलि सकेको संकेत, उनका विभिन्न अभिव्यक्ति बाट खुलेको छ । यहाँ संकटकै कुरो गर्दा कोविड-१९ पछि लगातार आएका धेरै संकटहरु छन्, एक पछी अर्को संकट थपिदै जादै छ, त्यसमा पनि युक्रेन रसिया संघर्षले विश्वमा खाद्य र उर्जामा थप मार पारेको छ । विश्वबजारमा संकटले बाटो विस्तार गर्दै जादा यता रोजगारीका अबसरहरु पनि संकुचित हुदै गएको छ । नेपालकै सन्दर्भमा कुरो गर्दा पनि, दैनिक १७ सयको हाराहारीमा बैदेशिक रोजगारमा जाने क्रम यो महिनामा पनि यथावत रहेको छ । हाम्रो अर्थतन्त्र यसैमा बलियो छ, हाम्रा नेता यसमै खुसी छन् ।
वार्षिक ६ लाख भन्दा पनि बढी नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका देखिएको छ । यसको मतलब अवैध र अन्य मार्ग बाट पनि करिब आधा (३ लाख काे हाराहारी) अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारीमा जाने तथ्यांकले जनाउँछ । मतलब करिब ९ लाख बेरोजगार युवाहरु, वार्षिक विभिन्न माध्यम बाट रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा जाने आंकडा आयो । जसले नेपाललाई आर्थिक र वैदेशिक मुन्द्रा सञ्चितमा पूर्ण सहयोग गरेको छ ।
यो वास्तविकता हो, भाषा जे प्रयोग गरेपनि यो वैदेशिक रोजगार कै देन हो । मान्नै पर्छ । यसको मतलब नेपाल आउने सक्ने आर्थिक र वैदेशिक मुन्द्रा संचित संकट भने टारेको पूर्ण जस नेपाली युवाहरु जो वैदेशिक रोजगारीमा गएका छन् उनीहरुलाई नै दिनु पर्छ । यहां अदुरदर्शी नेताहरुलाई होइन ।
त्यस्तै देशमा काम नपाएर आउन सक्ने सामाजिक विकृति पनि टारेको वैदेशिक रोजगारले नै देखियो, यहाँका योजना विद या प्रशासनले होइन । देशको अर्थ र वित्तीय आवश्यकता पनि बैदेशिक रोजगारले नै टारेको छ, राष्ट्रिय वित्तीय सरकारले होइन । तर उता (कामदार आपूर्ति गर्ने देश) विदेशमा भने रोजगारका सम्भावनाहरु संकुचित हुदै गरेको तथ्यांक सार्बजनिक भएको छ । रफ्तारमा नेपाली बैदेशिक रोजगारमा जाने एक पक्ष र रफ्तारमै रोजगार संकटमा उन्मुख भएको बिश्व बजारको दौड अर्को पक्ष, यो कहाँ नेर ठोकिने हो थाहा छैन । नेपालको परम्परागत बाह्य वित्तिय स्रोतको तुलनामा आयात धेरै छिटो हुने गरेको छ ।
विभिन्न संरचनात्मक अवरोधका कारणमा लगानीका सम्भावना अतिनै त्रासिदो रहनु, उत्पादित वस्तुको स्थायी बजार नहुनु, लगानी नऊठ्ने/लगानी जोखीममा रहेन जस्ता कारणले पनि नेपालमा सम्भाव्यताका क्षेत्रहरू त्यसै स्थिर रहेका छन् । दैनिक रूपमा नयाँ युवाहरुको अप्रयाप्त अवसर, योग्यता/ शिक्षा अनुसारको काम नपाउनु, काम नै पाए पनि स्थाइत्व/पेन्सन नहुनु आदि धेरै कारण छन् जसले नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा तानेको बुझिन्छ । र यी युवाहरु काे वैदेशिक रोजगारको यात्रा गर्दै गर्दा देशकाे अर्थ र आन्तरिक मागहरु पनि पुरा हुँदै गएको छ, जसले गर्दा नेपालमा आर्थिक संकट अगाडि देखिएको छैन ।
आन्तरिक माग अती हुनु र उत्पादन नहुनुको कारणले मुख्यतया देश आयातमा पूर्ण निर्भर रहन्छ । पछिल्लो चरणमा कोभिड-१९ पछि र चरणबद्ध वैदेशिक संकटहरुले झन् अन्यौल अवस्था सिर्जना गरेको छ । यो २०२१ अन्त्यसम्म अवस्थाले निम्त्याउने खोजेको आर्थिक संकट पनि टरेको छ । विदेशी मुद्रा आर्जनमा नेपालको परम्परागत स्रोत, पर्यटन, कृषि जस्तै सबै क्षेत्रलाई अहिले रेमिट्यान्सले उछिनिएको छ । विश्व अर्थतन्त्र र त्यसको संकट त्यो उनीहरूको हो, यो अन्तराष्ट्रिय चासो पनि हो ।
यद्दपि जे भएपनि नेपालले आफ्नो बचाउ र राष्ट्र निर्माण, आर्थिक संचय, रोजगार, उत्पादन जस्ता क्षेत्रमा आफैले योजना बनाउने हो । विश्व अर्थतन्त्रकाे रेखालाई अध्यन गरी देशको अवस्था/आवश्यता जस्ता विषयमा पहिचान गरी, तुरुन्तै विज्ञहरुको सुझाव संकलन गरी, राष्ट्रिय योजना बनाई यथा सिघ्र परम्परा परिपाटीकाे विकल्प निकाल्नु पर्छ, र निर्विवाद देशको आवश्यकता रहेको वैदेशिक रोजगारको उचित र व्यावहारिक कानूनी आधार परिमार्जित गरी स्थायी समाधान नहुन्जेल यसैलाई नै अब देशको अर्थतन्त्रकाे जडकाे स्थान दिनु पर्छ ।