‘नारायणहिटी’ भित्र त्रिपाल : ‘स्याल कराए पनि ढुक्कले सुतिन्छ’
काठमाडौँ, ६ जेठ । कुनै बेला पर्खाल छेउबाट हिँड्न पनि नमिल्ने ‘नारायणहिटी दरबार सङ्ग्रहालय’ को परिसरभित्र अहिले त्रिपाल र मानिसको चहलपहल देखिन्छ ।
विनाशकारी भूकम्पपछि खुल्लास्थानको खोजीमा आसपासका मानिस त्यहाँभित्र छिरेर अस्थायी घरजम गरिरहेका छन् । राजतन्त्र रहँदा ‘नारायणहिटी राजदरबार’ भनिने सो क्षेत्रको उत्तर र दक्षिण ढोकापट्टि आश्रय लिइरहेकाले अन्य खुल्लास्थलको भन्दा सुरक्षा र वातावरणका हिसाबले सुविधा पाएका छन् ।
भूकम्पले पूर्व मुमाबडामहारानी रत्नको निवास महेन्द्र मञ्जिलमा पनि क्षति पुगेकाले उहाँले पनि त्यस भवननजिक त्रिपालमा बस्न थाल्नुभएको छ ।
सुरूका दिनमा त्यहाँस्थित नेपाली सेनाका जवानले प्रवेशमा रोक लगाउन खोजे पनि सो क्षेत्रका प्रायः पर्खाल भत्केर ओहोरदोहोर गर्न मिल्ने भएको र लगातारको भूकम्पबाट त्रसितलाई आश्रय दिनु मानवीय सहयोग ठानेर सेनाले त्यहाँ बस्न अनुमति दिएको थियो । सो क्षेत्रमा हाल एक हजार २०० मानिस आश्रय लिइरहेका छन् ।
यहाँ बस्ने अधिकांशले घरबाट खाना पकाउने ग्यास सिलिन्डरसहितका सामग्री ल्याएका छन् । बालबालिकाको पनि विद्यालय बिदा भएकाले खेल्ने÷रमाउने र नयाँ साथी बनाउने उचित वातावरण मिलेको छ । सेनाले टुँडिखेल मैदानमा पनि सयौँलाई आश्रयस्थल उपलब्ध गराएको छ ।
यहाँभित्र सफा चौर, खेल मैदान, छेउछेउका रुख बिरुवा तथा बगैँचाले वातावरणीय अनुकूलता दिएको छ । खानेपानी र शौचालयको पूर्ववत् प्रबन्धले आश्रयकर्ताले असुविधा भोग्नु परेको छैन ।
कोइलीदेखि काग र अनेक चराचुरुङ्गीका आवाजले विपत्का समयको आश्रयलाई मानसिक राहत मिलेको देखिन्छ । त्यसो त, सङ्ग्रहालयभित्रका केही भवनमा पनि क्षति पुगेकाले त्यहाँ कार्यरत केही सैनिक जवान पनि त्रिपालमै रात बिताइरहेका छन् । केही सेनाका कर्मचारीका आफन्त पनि बसेका छन् ।
तनहुँ घर भई विगत आठ वर्षदेखि उत्तरढोका अगाडि बस्दै आएकी विमला श्रेष्ठ आफूहरूलाई नेपाली सेना र चीन सरकारबाट टेन्ट तथा अन्य सामग्री सहयोग भएको बताउनुभयो ।
“हामीलाई अरु असुविधा छैन, राति चाहिँ स्याल कराएर हैरान गर्छन् तर सेनाको सुरक्षा पहरा भएकाले जनावरबाट त्रसित हुनु पर्दैन”, श्रेष्ठले भन्नुभयो, “कहिलेसम्म यहाँ बस्ने भन्ने चाहिँ निधो छैन, भाडामा बसेको घर बस्नयोग्य नभएकाले कोठा नपाउन्जेल बसिन्छ ।” उहाँले एक सातादेखि नक्साल, हाँडीगाउँ, गहनापोखरीमा कोठा खोजे पनि नपाएको गुनासो गर्नुभयो ।
लाजिम्पाटमा लाउन्ड्रिङ (धोबी) काम गर्दै आउनुभएका अमन रजक सङ्ग्रहालयभित्रको बसाइँ उपयुक्त भए पनि घर जान र काममा लाग्न नपाएका कारण छट्पटी भएको बताउनुहुन्छ । रजकले भन्नुभयो, “खासै काम छैन, खाने बस्नेबाहेक काम छैन, राति र बिहान स्याल कराएर हैरान गर्छ ।”
एक सैनिक जवानका अनुसार आफूहरुले त्यहाँ आउने पीडितलाई स्थाल खुल्ला गरेको र वास्तविक पीडित हो÷होइनन् भनेर हरेक बिहान हाजिरी लिने गरेको जनाउनुभयो । पुनः अर्काे शक्तिशाली भूकम्प जाने त्रासका कारण बस्न मिल्ने घरमा मानिस पनि यहाँ आएका छन् ।
समय–समयमा सुत्केरी महिला र बालबालिकालाई स्वास्थ्य सेवाको टोली पनि त्यहाँ जाने गर्छ । यस्तै नेपाल रेडक्रस, भारतीय संस्था, मारवाडी सेवा समाजका सहयोग सामग्री पनि उपलब्ध हुँदै आएका छन् । रासस