कस्ले भन्यो तन्त्र फापेन ? महेन्द्र चालिसे

कस्ले भन्यो तन्त्र फापेन ?  महेन्द्र चालिसे

कपन अनलाइन

काठमाडौँ, पौष १७।

कस्ले भन्यो
तपाईलाई देशमा
प्रजातन्त्र, लोकतन्त्र,
या गणतन्त्र
तपाईलाई भन्न जे सजिलो लाग्छ
त्यही नै तन्त्र फापेन भनेर ?

हिजो लुकेर बस्ने जमानामा
तपाईका नेता टुप्लुक्क लुक्दै
तपाईका घरमा चप्पल फड्कार्दै
दायाँ बायाँ पल्याक् पुलुक हेर्दै
ढोका ढक्ढक्याऊदै आएको
तपाईका नेताले बिर्सिएपनि
तपाईले त बिर्सनु भएको छैन नी ।

तपाईले आफ्ना लाला बालाका लागि
आफूले नखाई नखाई साचेको खाना
जिब्रो फड्कारी फड्कारी डकारेको
जाने बेलामा आज त तपाई कहाँ
टन्न र मिठो खान पाईयो भनेको
तपाईका नेताले बिर्सिएको भएपनि
तपाईले त बिर्सनु भएको छैन नी ।

अब समय बदलिईसकेको छ
अब देशमा नेताहरुलाई फापेको
प्रजातन्त्र, लोकतन्त्र,
या गणतन्त्र
तपाईलाई भन्न जे सजिलो लाग्छ
त्यही नै तन्त्र आएर मौलाई सकेको छ
अब तपाईका नेताको घर हेर्दा
तपाईको घेरा फाटेको टोपी खस्छ ।

अब तपाईका नेताका घरको ढोकामा
बुर्जुवा शिक्षाले सिकाएको भाषा होईन
अंग्रेजी भाषामा लेखिएको बोर्ड झुण्डिएकोछ
जस्मा लेखिएको छ ‘सावधान यहा भित्र कुकुर छ’
मानौ घर भित्र मान्छे होईन कुकुरै कुकुर छन् ।

ल अब भन्नोस,
हिजो अर्काको घरमा
के घर के डेरा झै गरी बस्ने
जुन घरमा बस्यो त्यही घरको छोरी उडाईदिने
तपाईका आस्थाका धरोहर नेता
आलिसान महलमा बस्नु र तिन्का सन्तान
प्राडो र पजेरो बिना तरकारी किन्न नजानु
प्रजातन्त्र, लोकतन्त्र,
या गणतन्त्र
तपाईलाई भन्न जे सजिलो लाग्छ
त्यही नै तन्त्र फापेर नै त होईन र ?

तपाईका नेताले पो तपाईलाई बिर्सिए
तपाईले त नेताका अतित बिर्सनु भएको छैन नी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।