देश दुख्दैछ साथी : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पौष १०।
बाँझो खन्लान् भनेका, युवक दिन दिनै, चढ्न थाले जहाज
डाँडा नाघ्लान् भनेका जन मन बहुतै बन्न थाले निरास
गोर्खाली शान निर्धो बनिकन परको आज खप्दैछ लात्ती
चढ्नै सक्ने उकालो, निडरपन गयो, देश दुख्दैछ साथी ।१।
देख्दैनौँ दृष्टि उस्तै, फरक फरक बनी, वादका गीत आए
लेख्दैनौँ गान उस्तै, घर घर तिनले, नित्य बन्दी बनाए
लाग्दैनौँ पुज्न माटो, तब न दश गजा, नाघिए हैन राती
आमा निद्रा नआई, विचलित अति छन्, देश दुख्दैछ साथी ।२।
खायौँ खाने कुरा के ? हतपत नबुझी, हात थापेर खायौँ
गायौँ निर्धक्क गायौँ, भजन गरिगरी, घात बिर्सेर गायौँ
ल्यायौँ मागेर ल्यायौँ, रिन तर कसरी, भोलि तिर्ला नि ! नाति?
बाँच्यौँ हाँस्यौँ रमायौँ, पल पल तर यो, देश दुख्दैछ साथी ।३।
अर्काको आस राखी, जब जब दुनियाँ, काम बिर्सन्छ आफ्नो
अर्काको दास बन्दै, जब जब जनले, ठाम बिर्सन्छ आफ्नो
माटोले आँसु झार्ने, समय हुन गयो, गोल हो आत्मघाती
लात्ती मुङ्ग्री पचाऊँ त्यस बखत परे, देश दुख्दैछ साथी ।४।
बर्को कालो तुँवालो, सकल गगनको, सुस्तरी घट्न जाला
चर्को दारिद्रुयताको, परिधि क्षितिजको, सङ्लिँदै हट्न जाला
आस्थाको ज्योति चम्की, घर घर सुखका, फक्रलान् फूल पाती
त्यो बेला के म भन्थेँ, सुन न टनटनी, देश दुख्दैछ साथी ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक