दाउराको मोल : हरिप्रसाद भण्डारी ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
उसले आफ्ना दाउरातिर हेर्दै मनमनै भन्यो, ‘दुई सयभन्दा कममा त मरिगए दिन्न ।’ आफ्नो अडानलाई पुष्टि गर्न वरिपरि हेर्यो । घाटमा हिजो अस्तिजस्तो छ्यालव्याल दाउरा थिएनन् र जेजति थिए ती पनि उसका जस्ता अब्बल थिएनन् । त्यसैले उसले आफ्नो इच्छा पूरा हुने विश्वास लियो र सन्तोषको लामो सास फे¥यो ।
‘दाउरा बेचेर दुई सय आयो भने सबैभन्दा पहिले आमाको लागि औषधि किन्छु, अलिकता फलफूल किन्छु र आमाका नजिक बसेर आफ्नै हातले खुवाउँछु ।’ मनमा कुरा खेलायो ।
उसले बिरामी आमाको अनुहार सम्झियो । आँखा रसाए । दाइभाइलाई पनि सम्झियो– ‘मोराहरू सम्पत्ति खान भनेपछि मरिहत्ते गर्छन् तर औषधिमुलो गर्दैनन् ।’ दाइभाइलाई घृणा गर्दै प्याच्च थुक्यो । गरिबीका कारण आमाको औषधि गर्न नपाएकोमा दुःखी भयो ।
दिन ढल्दै थियो, पेटले अन्नको माग गरिरहेको थियो तैपनि ऊ आमाको चिन्ताले पिरोलिइरहेको थियो ।
उसले चारैतिरका नाका हे¥यो तर कहीँ केही देखेन ।
‘शङ्ख फुकेको त टाडैदेखि सुनिन्थ्यो । हिजो अस्ति दिनमा तीन–चारोटा लास आउँथे, तर आज एउटा पनि आएन, कस्तो अचम्म !’ ऊ निरास भयो तर चारैतिर हेर्न चाहिँ छोडेन ।
निकै बेरको प्रतीक्षापछि शङ्खको एकोहोरो आवाज उसका कानमा ठोकियो । आवाज सुनेपछि ऊ खुसी भयो र दाउरातिर हेर्दै मनमनै भन्यो, ‘दुई सयभन्दा कममा त दिँदैदिन्न ।’
उसले मनमनै कल्पना गर्यो, ‘उनीहरू आउनेछन् । दाउराको भाउ सोध्ने छन् । सुरुमा तीन सय भन्ने छु अनि उनीहरूले भाउ घटाउन अनुरोध गर्ने छन् र अन्त्यमा दुई सयमा दिनेछु ।’
मनमा कुरा खेलाउँदै थियो, मलामीहरू नजिकै आए । शङ्ख फुक्दै अगाडि आइरहेको मान्छेलाई चिनेचिनेजस्तो लाग्यो । शङ्का गर्दागर्दै उसको मुखबाट मधुरो आवाज बाहिर आयो– ‘हँ ! यी त साइँलाबाजस्ता पो छन् ।’
त्यस्तैमा उसले लासको पछाडि हिँड्दै गरेको आफ्नो दाइलाई देख्यो ।
उसको शङ्का यथार्थमा परिणत भयो । जोडले ‘आमा !’ भन्दै चिच्यायो । अनि आफ्नो शरीरलाई सम्हाल्न नसकी डङ्ग्रङ्ङ ढल्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक