यस्तो रहेछ भ्रष्ट, माफिया र तस्कर तह लगाउने विप्लवको योजना

कपन अनलाइन ,काठमाडौ, १० चैत । नेकपा माओवादीले राज्यसँग मुठभेड हुने कार्यक्रम अगाडि बढाएको छ । राष्ट्रियता र भ्रष्टाचारसँग सरोकार राख्ने मुद्दाहरुमा उसले सामाजिक बहिष्कारदेखि भौतिक कारबाहीसम्मको नीति तय गरेको छ ।

nepal_newsIMG_0378
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले अर्धभूमिगत शैलीमा सुरुदेखि नै गतिविधि गर्दै आएको छ । आफ्ना कठोर खालका संघर्षका कार्यक्रमले राज्य उत्तेजित हुने र त्यसले पार्टी संगठनलाई भूमिगत बनाउन मद्दत पुग्ने नेतृत्वको विश्वास छ ।
महासचिव विप्लवले भ्रष्ट,माफिया र तस्करविरुद्द संघर्षका कार्यक्रमलाई निरन्तरता दिन पार्टी पंक्तिमा निर्देशन नै दिएका छन् । यस्तो कारबाही सांकेतिक रुपमा सबै उद्योगधन्दा ,कलकारखाना,शिक्षा,स्वास्थ्य ,वैदेशिक रोजगार,जलस्रोत,पर्यटनलगायत सबै क्षेत्रका व्यक्ति लक्षित हुने सो पार्टीनिकट स्रोतका दाबी छ ।
नेकपा माओवादीका एक केन्द्रीय सदस्यका अनुसार पहिलो चरणको कारबाहीमा आफैंले तय गरेका ‘भ्रष्ट,माफिया र तस्कर’हरुको घर घेराउदेखि झन्डा गाड्नेसम्मका कार्यक्रम हुनेछन् । दोस्रो चरणमा उनीहरुमाथि भौतीक कारबाहीका रुपमा सम्पत्ति तोडफोड गरिने ती सदस्यले बताए । ‘समाज र सम्बन्धित क्षेत्रमा गन्हाएका मानिस हाम्रो पहिलो चरणको कारबाहीमा पर्नेछन्’, उनले भने,‘२४ चैतपछि यस्ता कारबाही सुरु हुनसक्छन् ।’

विप्लवको निगरानीमा प्रहरी जत्था परिचालन

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति प्रहरी सजग बनेको छ । पछिल्ला गतिविधि कानुनसम्मत नदेखिएपछि प्रहरीले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमलसिंह बलमे कानुनविपरीत भएका जोसुकैका गतिविधि नियन्त्रण गर्न प्रहरीको कतव्र्य भएकाले निगरानी बढाइनु स्वभाविक रहेको बताए । उनले भने-‘कानुनभन्दा माथि कोही छैन् । कसैले कानुन उल्लंघन गर्न खोज्छ भने उसको गतिविधि निगरानीमा पर्नु स्वभाविकै हो । हाम्रा इन्टेलिजेन्स छन् । यस्ता गतिविधिका सूचना संकलन त हुने नै भए नि ।’
लगानी बोर्डका अध्यक्ष राधेश पन्तको घरमा माओवादीका कार्यकर्ताले झन्डा गाड्नु कानुनविपरीत रहेको प्रहरीको बुझाइ छ । प्रवक्ता डिआइजी बलमे भने, ‘राधेश पन्तको घरमा घेराइ गरियो । यो कानुनविपरीत काम हो । घटनामा संलग्नलाई पक्राउ गरियो । कानुनबमोजिम कारबाही पनि हुन्छ । यस्तो गतिविधि जोकाहीले गरे पनि कारबाही हुन्छ । त्यही गरिएको हो ।’

तपाइँको प्रतिक्रिया ।