एक सयमा स्नातकोत्तर !
काठमाडौं २७ फागुन । बौद्ध जोरपाटीस्थित समता शिक्षा निकेतनले यस वर्षदेखि स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ। स्कुल तहमा एक सय रुपैयाँ शुल्क लिँदै आएको समताले स्नातकोत्तरमा पनि मासिक एक सय रुपैयाँ मात्र लिने भएको छ। स्कुलको १५औं वाषिर्कोत्सवमा मासिक एक सय शुल्कमा स्नातकोत्तर तह सुरु गर्ने घोषणा गरिएको हो। स्कुलले त्रिभुवन विश्वविद्यालयसित सम्बन्धन लिएर व्यवस्थापन र मानविकी संकायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न लागेको जानकारी स्कुलका संस्थापक उत्तम सन्जेलले दिए।
सन्जेलका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष उपेन्द्र महतोले उक्त स्कुलका लागि तीन करोड ६५ लाख रुपैयाँ सहयोग गरेका छन्। ‘समता नर्सरीदेखि स्नातकोत्तरसम्म मासिक एक सय रुपैयाँमा पढाउने स्कुल हो,’ उनले भने, ‘हामीले एनजीओ/आईएनजीओको सहयोग लिएका छैनौं।’ उनले स्वेच्छाले व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेसँग मात्र सहयोग लिई स्कुल सञ्चालन गर्दै आएको बताए।
सुरुमा स्नातकोत्तर तहमा ४० विद्यार्थीलाई पढाइनेछ। उनले विज्ञान संकाय पनि थप्ने जानकारी दिए। ‘०७५ भित्र स्कुलको शाखा ७५ जिल्लामै पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘यसका लागि सबैले सहयोग गर्ने अपेक्षा लिएका छौं।’
जोरपाटी कुमारीगालस्थित जस्ताको छाना र बाँसको टहराले बनाइएको स्कुल भवन र स्नातकोत्तर संकायको एनआरएनका पूर्वअध्यक्ष महतो, जीवा लामिछाने, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अनुराधा कोइराला, स्वामी आनन्द अरुणलगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए। समतामा दुई वर्षअघि स्नातक तहको पढाइ सुरु भएको थियो।
सन् २००१ मा स्थापना भएको स्कुलको ४३ जिल्लामा शाखा छ। जसमा ४५ हजार विद्यार्थी छन्। कार्यक्रमा गत वर्ष एसएलसीमा ९१ प्रतिशत ल्याउने दुई विद्यार्थीलाई एउटा/एउटा ल्यापटप उपहार दिइएको थियो। कान्तिपुरबाट