नेरास्ववियु र अखिल क्रान्तिकारी बीच अस्कल क्याम्पसमा हानाहान र तोडफोड
काठमाडौं, फागुन २७- एमाले निकट अनेरास्ववियु र एमाओवादी निकट अखिल क्रान्तिकारी बीच चुलीएको विवादका क्रममा अमृत साइन्स क्याम्पसमा तोडफोड तथा हानाहान भएको छ।
लैनचौर स्थित अस्कल क्याम्पस प्रमुखमा दुवैपक्षले आफूनिकटका व्यक्ति हुनुपर्ने दाबी गरेपछि शुरु विवादले उग्ररुप लिएपछि क्याम्पसमा तोडफोड भएको हो । विद्यार्थीको झडपका क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा समेत तोडफोड भएको छ । विद्यार्थीको समूहले क्याम्पस प्रमुखको कुर्सी समेत सडकमा ल्याएर आगो लगाएका छन् ।
आगजनी र तोडफोडको दोष दुबै विद्यार्थी संगठनले एक अर्कालार्इ लगाएका छन् । झडपका क्रममा सवारी साधन र क्याम्पसको फर्निचर पनि तोडफोड गरिएको छ ।
अनेरास्ववियुकी महासचिव नविना लामाले तोडफोडमा आफ्ना कार्यकर्ताहरुको संलग्नता नरहेको दाबी गरिन्। अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले भने क्याम्पसमा भएको तोडफोडमा अनेरास्ववियुको संलग्नता रहेको आरोप लगाए । अध्यक्ष मल्लले क्याम्पसको भौतिक संरचना क्षति गर्नु दुःखद भएको भन्दै जोसुकै भए पनि दोषिलाई कारवाही गर्नुपर्ने बताए ।
सडकमा गुडिरहेको एउटा कारमा पनि तोडफोड भएको छ । तोडफोडमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा दुई जना घाइते भएका छन् ।