रामेछापको सदरमुकाम मन्थली बजारमा पहिलो पटक गाडी पुगेको दिन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २६।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्लाका पुर्व सांसद देवशंकर पौडेलको मन्थली बजारमा पहिलो पटक गाडी पुगेको दिनको र रणजोर खोलाले झन्डै बगाएको स्मरणलाई यहाँ प्रस्तुत गरिएको छ।
मन्थली बजारमा पहिलो पटक गाडी पुगेको दिन र झन्डै रणजोरले बगाएको क्षण :
वि.सं. २०५५ साल जेठ २८ गते रामेछापको सदर मुकाम मन्थली बजारमा पहिलो पटक गाडी आइपुग्यो । मैले क.मनमोहन अधिकारी, क.माधवकुमार नेपाल र क.भरतमोहन अधिकारीलाई जानकारी गराएँ। जसले रामेछापका निम्ती भनेर पहिलो पटक बजेट छुट्याउन मद्दत गर्नु भएको थियो । त्यस दिन म जमिनको बाटो र आकाश मार्ग दुवैको प्रतिक्षामा थिएँ ।
जमिनबाट रामेछापमा पहिलो पटक गाडि आउँदै थियो । आकाशबाट कमरेड झलनाथ खनाल आउँदै हुनुहुन्थ्यो।पहिले डोजर संगसंगै सडक विभागको रातो रङ्गको एउटा जीप मन्थली आइपुग्यो। मन्थली बजारमा खुसियाली छायो। कर्मचारीका साथमा मसमेत जीप चढेर मन्थली परिक्रमा गर्यौ। पहिलो पटक आएको गाडिमा मन्थली परिक्रमा गर्ने कार्यक्रमले निकै हौसला दिएको थियो ।
मैले रामेछापमा द्रुत गतिमा काम गरेर गाडी ल्याइदिनु भएकोमा सडक विभागका कर्मचारीहरू र सम्वन्धित सवैलाई रामेछापबासीका तर्फबाट धेरैधेरै धन्यवाद दिए ।
केहिवेर पछि मन्थली हवाई मैदानमा उत्रिनु भएका खनाललाई स्वागत गर्न गाडि लिएर आकासे पुग्याैं र त्यहि गाडिमा जिविससम्म पुर्याएका थियाैं । याे पनि पहिलाे अवसर नै थियाे ।
जेठको ३० गते रामेछाप र ओखलढुङ्गा जिल्ला समेटेर साँघुटार बजारमा एउटा आमसभा आयोजना गर्न भनेर कमरेड झलनाथ खनालसंग प्रमुख आतिथ्यताका निम्ती समय मिलाएर मन्थली फर्किएको थिएँ । खनाललाई मन्थलीसम्म ल्याउने जिम्मा जिविस सभापति कैलाशप्रसाद ढुङ्गेलजीको थियो । म चाहिं चरिकोटमा रहेको सडक विभागको कार्यालयमा पसेर मन्थली झरेको थिए ।
जेठ २८ गतेको उडानबाट उहाँहरू मन्थली आइपुग्नु भयो । साथमा ओखलढुङ्गा विलन्दु हाल चम्पादेवी -९ निवासी केदारराज पुडासैनी र फुलवारी निवासी कल्पना लुईंटेल हुनुहुन्थ्यो । हामी सवैको भोलीपल्ट साँघुटार जाने कार्यक्रम थियो । मन्थलीबाट साँघुटार सातकोस पैदल यात्राको दुरीमा थियो । त्यसबेला यातायातका साधन घोडा थिए ।
क.जेएन र क.कैलाश घोडामा जाने कुरा तय भयो । हामी केदारराज पुडासैनी, कल्पना लुईंटेल र म पैदल जाने निश्चय गर्याैं ।
अठ्ठाइसै गते हामी साँघुटाका लागी प्रस्थान गर्यौ।
रणजोर खोलैखोला सामलीस्थान फेदीबाट सालुहुँदै जाने गरि लम्किंदै थियौं । रयालटारको फेदीमा पुग्दा नपुग्दै रणजोर फतफताउँदै बाढी आयो । एक हल्को लेदो आउँछ, केहिवेर शान्त हुन्छ । फेरी अर्को हल्को आउँछ, फेरी बन्द हुन्छ, गर्न थाल्यो । केदारजीले खाली भएको समयमा कटौं भन्नु भयो ।
रणजोरले धेरै मानिस मारेको, लेदोमा फसेको मान्छे झिक्न गाह्रो परेको आदिइत्यादि कुरा सुनेको थिएँ । यी सवै दृष्टान्त दिएर मैले केदारजीलाई नजान भनें । उहाँ हच्किनु भयो । कल्पनाजी नहुनु भएको भए, सायद केदारजी र म आँट गर्दा पनि हौं । हामी रोकियौं र तीनै जनाले अवेरसम्म रणजोरको गद्दे बाढी हेरेर बस्यौं ।
जव सूर्य मलिन भएर महाभारत पर्वतका टाकुरामा बादलसंग लुकामारी खेल्न थाल्यो । हामीले पनि बास खोज्ने तरखर गर्यौ । त्यहाँबाट केहि माथी चढेर डा.कल्पना लुईंटेल, केदार पुडासैनी र म हरि खत्रीजीका घरमा गएर बास बस्यौं ।
हरिजीले खोलो तर्ने प्रयास नगरेकोमा हामीलाई धन्यवाद दिनुभयो । यदि तर्नखोज्नु भएको भए बाँच्न नसकिने थप दृष्टान्त दिनुभयो। यदि तर्ने प्रयास भएको भए ! हाम्रो अवस्था के हुन्थ्यो ? आज सम्झँदा कहाली लाग्छ ।
भोली पल्ट खोलो पानीमा परिणत भएको थियो । जुत्तामोजा फुकालेर खोलो तर्याैं । कहिले वारी कहिले पारी गर्दै सालुपाटी फेदी पुगेर उकालो लाग्यौं । जाँदाजाँदै देउराली डाँडातिर पुग्दा पेटले खाना खोज्यो । केहि तल हुलाक चउरमा पुगेर खान बनाउन लगायौं । केदारजी यस्तो थकित हुनु भएछ कि यसो ढल्किनु भएको भुसुक्क निदाउनु भएछ । खाना खान बोलाउँदा समेत ब्युँझिनु भएन । त्यसवेला मैले पानी छेपेर ब्युझाएको थिएँ ।
हामीले खाना खाइ नसक्दै क.जेएन खनाल, क.कैलाश ढुङ्गेल, क. जेएन दाहालहरू घाेडामा र अरू साथीहरू पैदल आईपुग्नु भयो । त्यस पछि हामी पनि संगसंगै गयौं । उहाँहरूले सालुपाटी बजारमा रामकृष्ण श्रेष्ठजीकाेमा खाना खाईसक्नु भएकाे रहेछ ।
जेएन खनालसंग हिंड्न सारै मजा आउँदो रहेछ ।
विभिन्न ज्ञानवर्धक कुराहरू भन्दै हाम्रो टोलीलाई लाभान्वित बनाउँदै अगाडि बढ्नु भयो । देउराली खोलो तरेर बरपिपलको चौतारो कटेपछि जव बाटो उकालो लाग्यो तव कमरेड जेएन खनालले एउटा गाउँखाने कथा जस्तो टुक्का भन्नु भयो ।- “एकजना विदेशी पाहुना नेपाल आएर पहाड चढ्न भनेर गए । साथमा नेपालीहरू पनि थिए । सवैजना पहाड चढे । चढ्दा पनि उकालो झर्दा पनि उकालो कसरी भयो ?” हामीले जवाफ दिन सकेनौं । उहाँले उत्तर दिनुभयो । उ स्वयम् कालो थियो।क्रमस :
फोटो : देव शंकर पौडेलको फोटो डायरी
तपाइँको प्रतिक्रिया ।