हामीले सुख कहिले पाउने ? इन्द्रकुमार श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
बाँझा खेतबारीमा खेती सजाउनुपर्छ
पाखा खोरियामा कपास लगाउनुपर्छ
यतै उब्जाएर गुनिलो, पोसिलो खानुपर्छ
चर्खातानमा रमाएर यहींको लाउनुपर्छ
यस्तो स्वर्गीय भूमि आफ्नै हुँदाहुँदै
फेरि विदेशी भूमिमा किन जानुपर्छ !
अल्छेहरूलाई जाँगरिला बनाउनुपर्छ
बहाना गर्नेहरूलाई कसै गरी मनाउनुपर्छ
बेरोजगारीहरूलाई माटोमा काम लगाउनुपर्छ
अझै पनि सुतेकाहरूलाई जगाउनुपर्छ
गर्न बाँकी थुप्रै कामहरू छन् यहाँ
कसैले सुकर्म गरे अरुले पनि सघाउनुपर्छ ।
ऋण गरीगरी मीठो खानु हुँदैन
कसैको दयामायामा बाँच्नु पनि हुँदैन
अर्काको आसमा पर्खनु पनि हुँदैन
आफ्नै माटो र स्वाभिमान भुल्नु हुँदैन
ढिलो भयो ! राष्ट्रियताको भावना त आउनुपर्छ
सम्झौं है ! देश त हामीले नै बनाउनुपर्छ ।
डर र त्रासमा धेरैको ज्यान गएको छ
आसैआसमा धेरै लगानी भएको छ
तर यहाँ प्रत्येक पटक विश्वास रहेको छैन
जनताको मन कहिल्यै खुशी भएको छैन
आशावादी हुनुपर्छ भन्छन्–
अझै पनि नेतृत्वको बुद्धि पलाए
सुख र समृद्धि त्यति टाढा पनि रहेको छैन ।
तर खै ?
नेतृत्वको बुद्धि कहिले आउने ?
अनि, हामीले सुख कहिले पाउने ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक