सिताकेको स्वप्निल संसार
कपन अनलाइन\पुस २१, २०७१
पुस महिनाको ठण्डिमा घडिले बिहानको ७ बज्दा नबज्दै रंजितको फोन आयो । कपनतिर सामाजिक जीवनमा पनि देखा परिरहने रंजित यतिखेर कृषिमा आकर्षित छन् । हुनेखाने वर्ग भनेर कसैलाई चिनाइने हो भने रंजित त्यहि वर्गका हुन् भन्न सकिन्छ । पछिल्ला वर्षहरुमा कृषिले नेपालका सबै तह र तप्काका मानिसलाई आकर्षित पारेको छ । विशेषगरेर विदेश गएर अत्यन्त तल्लो हैसियतमा काम गर्न नरुचाउने युवाहरु कृषितिर आकर्षित छन् । कृषितिर आकर्षित भएपछि रंजितले के खेती गर्ने भनेर सोच्दा सोच्दै सिताके नामको च्याउखेतीतिर आकर्षित भए । स्वदेशमा पनि फस्टाउँदो बजार अनि राम्रो फराकिलो बिदेशी बजार भएको यो च्याउ सामान्य अरु च्याउभन्दा बिल्कुल भिन्न छ । यो च्याउलाई काठमा प्वाल पारेर खेती गरिन्छ । उत्तिसजस्ता कमलो सुकेको काठमा सिताके च्याउ खेती हुने गर्दछ । आम्दानी पनि सिताके च्याउबाट अरुभन्दा दुई गुना बढि हुन्छ । सहरका सुपर मार्केटहरुमा एक केजी सिताके च्याउको मूल्य एकहजारको हाराहारी पर्दछ ।
यो च्याउलाई सुकाएर बिदेश पठाउने गरिन्छ । विशेष गरेर जापान, कोरियालगायतका मुलुकलाई सिताकेको राम्रो बजार मानिन्छ । नेपालबाट सस्तो सिताके आउने भएकाले विश्वबजार पनि नेपालतिर आकर्षित हुने गरेको थाहा भएपछि रंजित सिताकेतिर पूर्णरुपमा मोडिएका हुन् ।
गाउँबाट नगर भैसकेको कपनका पूराना बासिन्दा रंजित खत्रीले राम्रै तलब आउने जागिर छाड्ने निधो गरिसकेका छन् । तीनजना साथीहरुलाई साथ लिएर उनी सिताके च्याउ खेतीका लागि तयारी गरिरहेका छन् । कपनको लसुनटारमा रहेको आफ्नै पुख्र्याैली जग्गाामा रंजित र उनका दुई साथी मिलेर सुरुमै २००० काठको मुडामा सिताके च्याउ खेती गर्ने तयारी गरिरहँदा केही दिनदेखि उनले मलाई फोन गरिरहेको थिए ।
कपनको पैंयाटारमा केही समय अघिदेखि सिताके च्याउ खेती गरिरहेका कमलराज श्रेष्ठको घरमा जानका लागि रंजितले यसरी फोन गरेका थिए मलाई । सिताके च्याउ खेती गरिरहेको कमलसँग केही अनुभव लिन चाहन्थे रंजित । संयोग नै भन्नु पर्छ कमलले मलाई पनि सिताके च्याउ चाख्न बोलाइरहेका थिए । एकजना खेती गरिरहेका किसान र अर्का खेतीमा सपना देखेर किसान बन्ने क्रमका व्यक्तिको यो भेटले वर्तमान नेपाली कृषि क्षेत्रका धेरै आयामहरुलाई सम्बोधन गरेको बोध भयो मलाई ।
कपनमा नै अत्यन्त प्राकृतिकरुपमा मिनरल वाटरको उत्पादन गरेर बजारीकरणमा केही वर्षदेखि व्यस्त रहेको कमलराज श्रेष्ठले यसैवर्षदेखि सिताके च्याउमा पनि हात हालेका हुन् । कृषि क्षेत्रमा लामो समयदेखि संलग्न कमलराजले यस अघि पैंयाटारमै केही समय तरकारी खेती गरेका थिए भने अलि वर्ष अघि उता ककनी साइडमा कुरिलो खेती पनि गरेका थिए ।
कृषिमा काम गर्दा गर्दै निखारिएका कमलराजले आफ्नै घरको पछाडि पट्टिको घाम नलाग्ने ओसिलो ठाउँमा करिब ३०० वटा उत्तिसको मुडामा सिताके गरेका छन् । घरको पछाडिको उपयोगहीन सानो क्षेत्रमा सुरु गरेको सिताकेले उनलाई राम्रै आम्दानी दिइरहेको छ । आफ्नै घरबाट खरिदकर्ताले एक किलो सिताके च्याउको ७०० रुपैंया तिरेर च्याउ किन्दा प्रफुल्ल छन् कमलराज ।
आजभोलि दिनेको सालाखाला २ किलो च्याउ उनले बेचिरहेका छन् । भाद्रदेखि फाल्गुणको अन्तिमसम्म सिताके च्याउ फल्ने सिजन हो । बाँकी ६ महिनाचाहिँ यो बाली फल्दैन । तर सिताके च्याउमा ठूलो लगानी गर्न नपर्ने भएकोले चाँडैनै लगानी उठेर नाफा गर्न सकिने कमलराजले अनुभव गरेका छन् । फल्न सुरु गरेको २ महिनाभित्र लगानी उठ्छ उनले अनुभव साँटे । एउटा मुडाले ३ वर्ष लगातार आम्दानी दिन्छ । त्यसपछिचाहिँ नयाँ मुडा तयार गर्नु पर्छ । कुकाठ जातका उत्तिसजस्ता काठहरु भएकाले सिताकेलाई चाहिने मुडा पनि सस्तो नै छ । बीउ पनि मंहगो छैन । थोरै लगानीमा धेरै आम्दानी भएकाले पनि सिताके च्याउमा धेरै किसान आकर्षित भएका छन्, कमलले थपे ।
कपनवासीले नै करिब ३० हजार रुपैंया बराबरको सिताके च्याउ खाएको उनले बताए । अर्काे ३०० वटा मुडा थप्ने तयारी गर्दैछन् कमलराज । उत्तिसको मुडाको लागि बैना दिइसकेका छन् उनले । करिब आधा घण्टामा उत्साहका पगरी गुथेर रंजित र उनका साथी कमलसँग बिदा भए । कमलले जाँदाजाँदै केही सहयोग गर्नु पर्यो भने भन्नु होला म तयार छु भनेर विदा दिए उनीहरुलाई । मलाई केही गोटा मंहगो सिताके च्याउ प्लाष्टिकको झोलामा हालेर पठाए कमलराजले ।
भनिन्छ अबको केही दशक विश्वमा बिलेनियरहरु कृषिका क्षेत्रका मानिसले भरिन्छन् । उन्नत किसिमको खेतीबाट हुने धेरै आम्दानीबाट विश्वभरीका मानिस कृषिमा आकर्षित देखिन्छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि मानिसहरु कृषि क्षेत्रमा लगानी गर्न लालयित छन् । नयाँ खाले कृषिमामात्र हैन पूराना बालीको संरक्षणमा पनि मानिसहरु आकर्षित छन् । भिन्न विषय पढेका युवाहरु पनि पढेको विषय एकातिर पन्छ्याएर कृषितिर आकर्षित छन् ।
२२ २५ का युवाहरु गाउँतिर बाख्रापालन गर्दै गरेको वा काउली खेती गर्दै गरेको देख्नु यतिखेर अनौठो विषय बन्दैन । जसरी युवाहरु विदेशमा गएर काम गर्न लालयित छन् त्यसरी नै स्वदेशमा बस्नेहरुचाहिँ कृषितिर आकर्षित छन् । रंजित खत्री तथा उनका साथीहरुको कृषिमा केही गर्ने प्रयास सफस रहोस् भन्ने कामना गर्दै म पनि उनीहरुबाट ओझेल भएँ ।
-केशव पाठक