बुढानिलकण्ठ नगर अस्पताल निर्माण तीव्र ,अर्को वर्ष पुस सम्म सम्पन्न गर्ने लक्ष
कपन अनलाइन
काठमाडौं ,फागुन १९।
बुढानिलकण्ठ नगरपालिकाले गौरव योजनाका रुपमा निर्माण शुरु गरेको बुढानिलकण्ठ नगर अस्पताल निर्माण कार्यले तीव्रता पाएको छ। यसै क्रममा अस्पतालको पहिलो तल्लाको ढलान सम्पन्न गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० डिठ्ठाचौरमा निर्माण हुने लागेको उक्त अस्पताल २०७८ शाल पुस ७ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ।
नौ करोड ९३ लाख ६६ हजार ४ सय २० रुपिया ५९ पैसा कुल लागत रहेको विभिन्न स्वास्थ्य सुविधा सहित निर्माण हुने उक्त अस्पताल २४ सैयाको हुनेछ।
बुढानिलकण्ठ नगर अस्पताल निर्माणका लागि बुढानिलकण्ठ नगरपालिका बाट ४ करोड तथा स्वास्थ्य मन्त्रालय बाट ६ करोड बजेट व्यवस्थापन गरिएको नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराईले बताएका छन।
अस्पताल निर्माण सम्पन्न भए संगै अर्को वर्षको अन्तिम तिर स्वास्थ्य जनशक्ति सहित सेवा शुरु गर्ने तयारीमा रहेको नगरपालिकाले नगर परिषद बाट नगर अस्पताललाई गौरवको योजनाका रुपमा पारित गर्दै प्रमुख प्राथमिकतामा राख्ने निर्णय गरेको थियो।