आशाको त्यान्द्रो : तारा के.सी (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,मंसिर १३।
अप्ठ्यारोमा सम्झने तिनै माइती त हो नी । उसले ठुल्दाइलाई सम्झि । उनको सम्पन्नतालाई सम्झि । मेरो यो समस्याको हल हुन्छ सोची । दराजबाट एकजोर साधारण कुर्था सुरूवाल झिकी । ऐना हेरी खुज्मुजीएको निधारको बिचमा रातो बाटुलो टीका लगाई र सरासर भरयाङ्ग ओर्लिदै ठुल्दाइको घरतर्फ लागी ।
दाइसँग घरको गेटमै भेट भयो । ठुल्दाइले उसलाई देखेर खुशी हुँदै भने !
‘भाउजू छ घरमा बस्दै गर । म एकछिन बजार गएर आउँछु ।’
भाउजू खुब गफिन थालीन् नन्द भेटे पछि । सुन चाँदी गर्रगहना जोडेको । लुगा कपडा किनेको । सबै कुराहरू गर्न भ्याइन् । लाउने खाने उमेर यहि त हो नी नानी ! भन्दै दराजबाट नयाँ हार देखाउदै भनिन् – ‘यो चार तोलाको हार यो बर्ष तिजमा बनाएको । कति पुरानो गहना लगाउनु भनेर। तपाइको दाइलाई थहाँ नै नदिई । अलि अलि पैसा दाइको आँखा छलेर ब्याजमा पनि लगाएको छु । यसो बेला मौकामा जोहो गर्नुपर्छ नानी ! ‘भाउजू भन्दैथिइन् । दाइ यहि बेला झोलाभरि फलफूल र तरकारी बोकेर भित्र पसे । दाइ आएपछि भाउजूले ती कुराको प्रसङ्ग निकालिनन् । आज यसरी अचानक आउनुको कारण सोध्दै भने ठुल्दाइले – ‘घरतिर सबैलाई सन्चै त छ ?’
‘उसले सबै वृतान्त बताई ।जग्गा पनि भन्ने बितिकै बिक्री नभएको र श्रीमानको तत्कालै अप्रसन गर्नु पर्ने हुदाँ समस्यामा परेको कुरा भनी ।’
ठुल्दाईको प्रतिक्रिया न आउदै भाउजूले भनिन् –‘यो बेलामा सहयोग गर्नुहुन्थ्यो नी । अस्तिमात्र भाइ बुहारी बिदेश भ्रमण जाँदा पैसा हालिदिए । अहिले त आफैलाई नै अप्ठ्यारो छ ।’ झिनो आसाको त्यान्द्रो मनबाट चुटुक्क चुडालेर जुरूक्क उठी ऊ र ठुल्दाइको त्यो भब्य महल फर्केर नहेरी ओझेल परी ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक