विद्यालय पुनःनिर्माणका लागि सात लाख सहयोग

रत्ननगर (चितवन), ५ मङ्सिर । रोजगारी तथा अध्ययनको सिलसिलामा बेल्जियम रहेका चितवनवासीको संस्था चितवन सहायता कोष (क्याट) बेल्जियमले भूकम्पले भत्काएको विद्यालय पुनःनिर्माणमा सहयोग गरेका छन् ।

चितवनको विकट गाउँ लोथर–७, स्यामराङमा रहेको दुङबाङ राष्ट्रिय प्राथमिक विद्यालयको भवन बनाउन संस्थाले रु सात लाख ५० हजार सहयोग प्रदान गरेको हो ।

यो ठाउँ पुग्न पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट जोखिमपूर्ण चार घन्टा गाडीबाट र तीन घन्टा पैदल यात्रा गर्नुपर्छ ।

क्याट बेल्जियमका अध्यक्ष दिनेशप्रसाद भण्डारीले विद्यालय भवन निर्माणको संयोजन गरिरहेको ‘हामीले नगरे कसले गर्ने ?’ संस्थाका उपाध्यक्ष विनोदबाबु रिजाललाई रु सात लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो विद्यालयको दुईकोठे भवन गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको हो । संस्थाका लागि बेल्जियमको एक अस्पतालमा काम गर्ने परिचारिका प्रभा न्यौपाने दम्पतीले सङ्कलन गरेको रकममध्ये एउटा कक्षा कोठा बनाउन सो रकम प्रदान गरिएको संस्थाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

बाँकी रकम क्याट बेल्जियमले विभिन्न शीर्षकमा अन्यत्रबाट सहयोग सङ्कलन गरेको हो । संस्थाका संस्थापक अध्यक्ष सीता सापकोटाले अत्यन्तै विकट क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षाका लागि सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

कुल रु १५ लाख लागतमा निर्माण गर्न लागिएको भवनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झ्यापुराम चेपाङको अध्यक्षतामा भवन निर्माण समिति बनाइएको छ । विद्यालयमा १६४ जना चेपाङ विद्यार्थी अध्ययन गर्छन् । रासस

तपाइँको प्रतिक्रिया ।