सात प्रदेशबाट बढ्नु हुँदैन – सचिव भट्टराई

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अब सात प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने धारणा राख्नु भएको छ ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताउनुभयो ।

उहाँले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिनुभयो ।
“संविधान निर्माण गरेर मुलुकलाई छिटो निकास दिनुपर्छ भन्ने सवालमा पार्टी इतिहासमै पहिलोपटक बढी एकीकृत भएको छ”, उहाँले भन्नुभयो ।

सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि आफ्नो चासो रहेको बताउँदै नेपाललाई छिन्न भिन्नसहितको राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक छ भन्नुभयो ।

उहाँले एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाउनुभयो । यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने उहाँको विश्लेषण छ ।
कार्यक्रममा एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीले जनवर्गीय सङ्गठनलाई अधिकारका सवालमा लड्न रोक नलगाएको तर नियन्त्रण बाहिर नजान भनेको स्पष्ट पार्नु भयो ।

तपाइँको प्रतिक्रिया ।