बन्दका क्रममा चितवनमा झडप, प्रहरी निरिक्षकसहित ९ घाइते

बन्दका क्रममा चितवनमा झडप, प्रहरी निरिक्षकसहित ९ घाइते

चितवन, १३ भदौ : थारू कल्याणकारिणी सभा चितवनले आव्हान गरेको चार दिने बन्दको पहिलो दिन आज नारायणगढका व्यवसायीहरुले बजार खुल्न दवाव दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा क्रममा नौ जना घाइते भएका छन् ।

11900051_10153909695466754_150990216245967991_n

झडपका क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । यता थारू कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले आठ जना बन्दकर्ता सामान्य घाइते भएको जानकारी दिएका छन् ।

बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङगाले बायाँ कुहिनोमा लागेपछि घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुंगाले हातमा लागेको बताए ।

यता महतोले बन्द नगर्न बिहानैदेखि दवाव दिंदै आएको भिजलान्ते समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प बनेका छन् । सवारीसाधन सहज संचालन नभएपछि लामो दूरीका सवारीसाधनलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाईएको छ । प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३ सय वटा गाडीलाई गन्तव्य तर्फ पठाईएको बताए । पूर्वबाट आएका गाडीलाई वाईपास हुँदै मुग्लिन र पश्चिम तर्फ पठाईएको छ भने पश्चिम तर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाईएको उनले बताए ।

चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारूहरुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै चितवनका थारू समुदायहरू आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताए ।

तपाइँको प्रतिक्रिया ।