तेक्वान्दो टोली बुल्गेरिया जाने, आइटिएफले प्रशिक्षक धमलालाई सम्मान गर्ने

काठमाडौँ, ४ भदौ । बुल्गेरियाको पालमोदिप सहरमा भदौ ७ देखि १३ सम्म सञ्चालन हुने १९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) च्याम्पियनसिपमा सहभागी हुनजाने पाँच सदस्यीय तेक्वान्दो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

त्रिपुरेश्वरमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले उक्त टोलीलाई बिदाइ गर्नुभयो । सो अवसरमा विष्टले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वसामु अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभयो ।

टोलीमा तीन खेलाडी र समान एक प्रशिक्षक तथा निर्णायक रहेका छन् । उक्त प्रतियोगितामा रुपसिंह मोक्तानले ५० केजी, भमबहादुर थापामगरले ६० केजी र थमबहादुर बहिकले ७५ केजी तौल समूहमा नेपालको तर्फबाट चुनौती पेस गर्नेछन् ।

प्रतियोगितामा अञ्जन धमलाले प्रशिक्षण गर्ने छन् भने आइटिएफ तेक्वान्दो नेपालका अध्यक्ष अञ्जुनाथ श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । साथै सो प्रतियोगिताका दौरान आइटिएफले दुई–दुई वर्षमा गर्ने विशिष्ट सम्मानअन्तर्गत टोलीका प्रशिक्षक धमलालाई सम्मान गर्न लागेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।