यसै वर्षदेखि शिक्षा दिवसमा क्याम्पसलाई पनि पुरस्कृत गरिने

काठमाडौँ, १६ साउन । शिक्षा मन्त्रालयले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसका अवसरमा सर्वोत्कृष्ट हुने क्याम्पसलाई समेत पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयमा आज बसेको बैठकले विगतमा विद्यालयलाई मात्र पुरस्कृत गरिँदै आएकामा यो वर्षदेखि क्याम्पसलाई समेत पुरस्कार दिने निर्णय गरेको हो ।

बैठकमा पदक तथा प्रमाणपत्रसम्बन्धी निर्देशिका संशोधनबारे जानकारी दिँदै अब सर्वोत्कृष्ट सामुदायिक, निजी र आङ्गिक तीन क्याम्पसलाई समेत पुरस्कृत गरिने बताइयो ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले विगतमा विद्यालयलाई मात्र पुरस्कृत गरिँदा शिक्षा दिवस विद्यालय तहको मात्र भयो भन्ने गुनासो आएकाले पहिलोपटक क्याम्पसलाई समेत पुरस्कृत गरिन लागेको बताउनुभयो ।

उत्कृष्ट तीन क्याम्पस प्रत्येकलाई रु साढे दुई लाख दिइनेछ । यसका लागि भौतिक पूर्वाधार, विद्यार्थी सङ्ख्या लगायतलाई मापदण्डका रुपमा लिइएको छ ।

त्यसैगरी, उत्कृष्ट विद्यालयमध्ये राष्ट्रियस्तरको विद्यालयलाई रु दुई लाख र क्षेत्रीय विद्यालयलाई रु एक लाख प्रदान गरिँदै आएको छ ।

यसै वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेलाई प्रदान गरिने पदक र प्रमाणपत्रका लागि व्यक्ति स्वयम्ले आवेदन फाराम भर्नुपर्ने नियमसमेत लागू गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष भदौ २३ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।