गोकर्णको सहिद तथा शान्ति स्मारक अलपत्र अवस्थामा

काठमाडौँ, १४ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्माण भइरहेको राष्ट्रिय सहिद तथा शान्ति स्मारक अलपत्र परेको छ ।

आयोजना कार्यालयको निस्क्रियताले काठमाडौँको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माण भइरहेको स्मारक अलपत्र बनेको हो । स्मारक विसं २०७१ चैत मसान्तमा सम्पन्न भई २०७२ वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने कार्यक्रम थियो ।

प्रधानमन्त्रीले शपथ लिनुभए पछि यहीँ आई सहिदको प्रतिमामा माल्यार्पण गर्ने, सहिद गेटका चार सहिदको सालिक स्मारकमै ल्याई राख्ने र विदेशका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख आउँदा गोकर्णकै स्मारकमा आई सहिदप्रति माल्यार्पण गर्ने कार्यक्रम बनाउने निर्णय समेत सरकारले गरिसकेको छ । स्मारक निर्माण अलपत्र हुँदा यी काममा समेत ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

आयोजनाले जिम्मेवारीपूर्वक काम नगरेकाले समयमा काम नसकिएको स्थानीय सन्देश भण्डारीले बताउनुभयो । “गोकर्णमै आयोजनाको एकाइ कार्यालय स्थापना गरिए पनि कार्यालयमा कहिल्यै कर्मचारी आउँदैनन्, आक्कलझुक्कल एक दुई कर्मचारी आई कार्यालय खोलेको देखिन्छ, अधिकांश समय कार्यालय बन्द हुन्छ”– उहाँले भन्नुभयो ।

मन्त्रालयका उपसचिव ध्रुव पौडेलको नेतृत्वमा नौ कर्मचारी हुने कार्यालयमा भेटिनुभएकी सव इञ्जिनियर किरण चौधरी काम केही नभएकाले आफन्त युवराज चौधरीसँग पढेर बसेको बताउनुहुन्छ । “सरहरु नहुनु भएकाले फुर्सदको समयको सदुपयोग गर्दै पढेर बसेकी हुँ”– समाचार सङ्कलनका लागि कार्यालयमा पुग्दा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

कार्यालयमा इञ्जिनियर दुई, सव इञ्जिनियर तीन, कार्यालय सहयोगी दुई र सुरक्षाकर्मी एक गरी नौ जना कर्मचारी कार्यरत हुनुहुन्छ । कार्यरत कर्मचारी कार्यालयमा नआउँदा कामको गति बढ्न नसकेको हो ।

सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकमा विसं २००७ देखि २०६२÷२०६३ को परिवर्तनका समयमा राष्ट्रका लागि योगदान दिने सहिदको स्मरणमा स्मारक बनाउने निर्णय मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको बैठकले गरेको थियो ।

सहिदका नाममा बन्न लागेको स्मारकमा समेत कमिसनको खेलले कुरा नमिली समयमै काम नसकेको स्थानीय श्याम डङ्गोलको आरोप छ । स्मारक निर्माणको जिम्मेवारी वोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा जेभी र डाँफे गौरी पार्वती–सुनौला खिम्ती जेभीलाई दिइएको थियो ।

कार्यालयका प्रमुख पौडेलसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सरकारी र सामुदायिक सहभागितामा निर्माण भइरहेको स्मारकका लागि मन्त्रिपरिषद् बैठकले स्मारक निर्माण कार्यदल कार्यसम्पादन समिति समेत गठन गरेको छ । सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा गठित समितिमा लोकतान्त्रिक आन्दोलनमा क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको छ ।

क्रियाशील सबै दल सम्मिलित ५७ सदस्यीय समितिका अध्यक्ष सिग्देलसँग आयोजना कार्यालयका कारण काम ढिला भएको सम्बन्धमा प्रतिक्रिया माग्दा यस सम्बन्धमा अहिले केही नबोल्ने बताउनुभयो ।

मन्त्रालयका सचिव खुमराज पुञ्जाली कार्यालयमा कर्मचारी नबस्ने गुनासो आउने गरेकाले गोकर्णमै बस्ने गरी कार्यालय प्रमुख खटाउने तयारी भइरहेको बताउनुहुन्छ ।

“कर्मचारी राख्नका लागि नै स्मारक निर्माणस्थलमा मासिक रु आठ हजार भाडा तिरेर कार्यालय लिएका छौँ, यसको सदुपयोग गरी काम पनि छिटो गर्ने गरी कार्यालय प्रमुखलाई निर्माणस्थलमै राख्ने गृहकार्यमा जुटेका छौँ”– सचिव पुञ्जालीले भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।