कारबाहीहुने भएपछी राहत रकम फिर्ता

चौतारा, १४ साउन । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि परिवारबाट नक्कलीरुपमा भिन्दै बसेको देखाई भूकम्पपीडित परिचयपत्र बनाएर बुझिलिएको रु १५ हजार धमाधम फिर्ता हुन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नियम विपरीत लिएको पाइएमा परिचयपत्र जफत गरी त्यस्ता व्यक्तिमाथि ठगीमा कारबाही गरिने चेतावनी दिएपछि धमाधम फिर्ता हुन थालेको हो ।

प्रशासन कार्यालयले दिएको जानकारीअनुसार हालसम्म १९ जनाले रकम फिर्ता गरेका छन् । फिर्ता बुझाउनेमा बतासे गाविसबाट १२, बाडेगाँउ गाविसबाट छ र भोटसिपा गाविसबाट एक जना रहेका छन् । सबैभन्दा बढी पाग्रेटार गाविसबाट ७२ जना विरुद्ध उजुरी परेको र त्यसपछि भिमटार गाविसबाट उजुरी परेको छ ।

सरकारबाट वितरण गरिने रु १५ हजार लिन श्रीमान् श्रीमती, सँगै बस्दै आएका चार–पाँच जना छोरा तथा एकल छोराले पनि भिन्दै बसेको देखाएर परिचयपत्र लिएका थिए । यसरी परिचयपत्र वितरण गरिनुमा स्थानीय राजनीतिक दलको दबाब रहेको कतिपय गाविस सचिवले बताएका छन् ।

तीस–चालीस वर्ष अघिदेखि गाउँबाट सबै बेचबिखन गरेर अन्यत्र बसेका व्यक्ति र राजधानी तथा सदरमुकाममा रहेको क्षति नभएको पक्की घर हुनेले पनि परिचयपत्र लिएको पाइएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार ६०० घरधुरी रहेकामा नक्कली परिवार देखाउँदा झन्डै एक लाख घर सङ्ख्या पुगेको गाविसमा कार्यरत सचिवहरुले बताएका छन् ।

जिल्लामा दुई नगरपालिकासहित ६८ गाविस रहेकोमा पेड्कु गाविसमा अझैसम्म पनि रु १५ हजार वितरण हुन सकेको छैन । हालसम्म ११ गाविसले मात्र वितरण गरेको विवरण पेस गरेको र अन्य गाविसले पेस गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।