नेदरल्याण्डमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न

काठमाडौँ, १६ असार । भूकम्पपछि पनि नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको सन्देश दिँदै नेदरल्याण्डको विभिन्न स्थानमा पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरिएको छ ।

नेदरल्याण्डसको उट्रेच सहरमा आयोजित कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले डच पर्यटकलाई नेपाल भ्रमण गरी नेपालको पर्यटनमा टेवा पु¥याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

राजदूत पोखरेलले भूकम्पका बाबजूद नेपालका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय आकर्षण यथावत रहेको, पर्यटकको सुविधा र सुरक्षामा कुनै कमी नरहेको बताउँदै बढीभन्दा बढी डच नागरिकलाई नेपालको भ्रमण गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल डच युनाइटेड तथा प्लान नेदरल्याण्डसका प्रतिनिधिले आफ्ना संस्थाहरुमार्फत नेपालका लागि भइरहेको सहायता कार्यक्रमबारे जानकारी दिएका थिए ।

यसैगरी नेदरल्याण्डसकै मास्ट्रिच सहर नजिकैको सुन्दर पर्यटकीय सहर भल्केन्बर्गमा नेपाल सहायता अभियान र पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहायता सङ्कलनार्थ बिक्री केन्द्रहरु, कन्सर्ट, नृत्य, लामाहरुद्वारा बुद्ध मन्त्रोच्चारणलगायत क्रियाकलाप गरिएको थियो ।

सो कार्यक्रममा पनि राजदूत पोखरेलले नेपाल भ्रमणसम्बन्धी कार्यक्रम बनाउन सहभागीहरुलाई सुझाव दिनु भयो ।

अभियानबाट सङ्कलन भएको रकम विभिन्न सङ्घसंस्थामार्फत नेपालमा सहयोगार्थ उपलब्ध गराइने जानकारी आयोजकले दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।