बाढीले झापामा सात घर बगायो

सुरुङ्गा (झापा) १६ असार । अविरल वर्षापछि आएको बाढीले झापामा लाखौंको क्षति पु¥याएको छ ।

झापाका विभिन्न खोलामा आएको बाढीले सात घर बगाउनुका साथै सयौं घर डुवानमा पार्दा लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीका अनुसार खुदुनावारी–१ का विशाल सुब्बा, मानबहादुर लिम्बू, नारायण अधिकारी, पुष्पलाल माझी, तेजबहादुर गजमेर, जितबहादुर गजमेर र बलबहादुर जगमेरको घर बगाउँदा २६ लाखभन्दा बढी मूल्यको क्षति भएको छ ।

प्रहरीका अनुसार खुदुनाबारी १ र २ का अझै पनि ८० घर डुवानमा रहेको र स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

शरणामती–३ मा ११५ घर, शरणामती–५ मा एकसय घर, राजगढमा १२० घर डुवानमा परेका छन् । त्यस्तै कनकाई माइमा आएको बाढीले टाघनडुब्बा–९ मा १२५ घर, शरणामती–८ मा १२५ घर, मेची खोलामा आएको बाढीले मेची नगरपालिकामा १० घर डुवानमा पारेपछि त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको छ ।

बाढीबाट विस्थापित भएका ४ सय ७० जना अहिले विद्यालय र स्वास्थ्य संस्थाको भवनमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता, आज बिहान इलामको चुलाचुली–६ निवासी ४८ वर्षीय सूर्यकुमार राई दमक–१ र लखनपुर भएर बग्ने रतुवा खोलाले बगाएर बेपत्ता भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।