संघर्ष समितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ, १८ माघ । नेपाल कराते महासंघ एवं नेपाल सितोरियो कराते डो संघका अध्यक्ष तथा एसियाली प्यासिफिक सितोरियो कराते महासंघका प्रथम उपाध्यक्ष दावा गुरुङको संयोजकत्वमा गत पुस ३० गते गठित १ सय ५१ सदस्यीय खेलकुद अधिकार संरक्षण संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार १३ बुँदे सुझाव तथा माग पत्रसहितको ज्ञापनपत्र बुझाएको छ ।
बालुवाटरस्थित प्रधानमन्त्री निवासमा संयोजक गुरुङले प्रधानमन्त्री कोइरालालाई उक्त सुझाव तथा माग पत्रसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
मात्र पत्रमा नयाँ बन्ने संविधानमा खेलकुदलाई मौलिक हकका रुपमा राख्नु पर्ने, केन्द्रीय संसददेखि प्रान्तीय राज्यहरुका संसदसम्म समावेविशता सिद्धान्तको आधारमा कम्तीमा २० प्रतिशत खेलाडीलाई आरक्षण सिटको व्यवस्था मिलाउनु पर्ने, संविधान निर्माण पश्चात सरकारले ऐनदेखि नियमावलीसम्म तर्जुमा गर्नुपर्ने, देशको खेलकुद विकास र अन्य अन्तर्राष्ट्रिय मान्यता प्राप्त समितिहरुमा खेलाडी र खेलकर्मीहरु कम्तीमा ८५ प्रतिशत अनिवार्य नियुक्ति गर्नुपर्ने, खेलकुद विकास ऐन २०४८, नियमावली २०४९ र मातहतका आर्थिक प्रशासन सम्बन्धी नियमावली २०६४, कर्मचारी सेवा शर्त सम्बन्धी नियम २०४९, राष्ट्रिय खेलकुद नीति २०६७ आदि सम्बद्ध ऐनहरु खेलाडी, खेलकर्मी खेल संघ र पत्रकार सम्मिलित कार्यदलले बहृत रुपमा परिमार्जन गर्नुपर्ने, खेलाडीहरुको मनोबल र सम्मानका लागि दिइने निर्धारित नगद पुरस्कार दोब्बर बनाइ ओलम्पिक र एसियन पदकधारीलाई आवास उपहारको व्यवस्था मिलाउनु पर्ने, खेलकुद क्षेत्रबाट व्यक्तिव विकास गरी मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएका राष्ट्रिय स्तरमा ख्याती प्राप्त राष्ट्रसेवक खेलाडीहरु, पदाधिकारीहरु र कर्मचारीहरुलाई स्पोर्ट्स भिलेजको अवधारणा ल्याइ घडेरी उपलब्ध गराउनु पर्ने, परिषद्मा अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी प्रकृयामा लानु पर्नेलगायत छन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले समितिले पेश गरेको माग प्रति सकारत्मक लिदै सीमित श्रोत र साधनका बावजुद खेलाडीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको बताउदै खेलाडीको सेवा सुविधामा बृद्धि गर्ने बताए ।
सो अवसरमा प्रस्तुत गरिएको माग पूरा नभए खेलाडीहरुले जस्तो सुकै आन्दोलन गर्न बाध्य हुनेतर्फ प्रधानमन्त्रीलाई मागपत्र मार्फत ध्यानाकर्षण समेत गराइएको छ ।
सो अवसरमा परिषद्का सदस्य, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, परिषद्का विभागीय प्रमुख, विभिन्न खेलका मुख्य प्रशिक्षक, ओलम्पियन, कर्मचारी संघका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।