नक्कली डीआइजी बनेर ठग्दै हिड्ने सक्कलीको फन्दामा

काठमाडौ, १९ माघ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दुई दिनअघि एक व्यक्तिले आमाबुवालाई कसैले अपहरण गरेको भन्दै उजुरी दिए ।
अपहरणसम्बन्धी अनुसन्धान गर्ने अधिकारीले उनका केही कुरा सुने । अनि ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) हेमन्त मल्लको कार्यकक्षमा लगे । मल्ललाई पनि ती व्यक्तिले आफ्नो कुरा सुनाए । तर प्रहरी अधिकृतसँग बाहिर निस्किएपछि उनले आश्चर्यजनक प्रश्न ती प्रहरी अधिकृतलाई सोधे ‘के उहाँ नै हो त ब्युरो प्रमुख ?’ ती अधिकारीले हो भनेपछि उनले दरबारमार्गमा सीआईबीको डीआईजी बताउनेलाई आफूले मुद्दा मिलाउन दुई लाख रुपैयाँ दिएको जानकारी दिए । उनले दरबारमार्गमा आफूले भेटेको डीआईजी र अहिले भेटेको व्यक्ति फरक परेको बताए । प्रहरी अचम्ममा परे ।
खासमा के भएछ के भने, दुई युवाले ‘सीआईबी प्रमुखलगायत अन्यलाई चिनेको छु’ भनेर चितवनका कृष्ण गौतमको मुद्दा मिलाइदिने भन्दै २ लाख ९० हजार रुपैयाँ झ्वाम पारेका रहेछन् । बेलायत बस्दै आएका चितवनका गौतम तीन महिनाअघि बिहे गर्न नेपाल आएका हुन् ।
भक्तपुर लोकन्थली बस्ने उनको बिहेको एक महिना नपुग्दै सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेदपछि पत्नीले गौतमविरुद्ध कुटपिट र मानसिक यातना दिएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीमा मुद्दा दर्ता गरिन् ।
प्रहरीले गौतमलाई थुन्यो । त्यही बेला उनका ससुराली पक्षले गौतमका बुवा–आमालाई चितवन लिएर गए । जग्गा आफ्नो नाममा नगरे छोरालाई छुट्न नदिने भन्दै चितवनको दुई कट्ठा १० धुर आफ्नो नाममा गराए । गौतमले त्यो कुरा प्रहरी हिरासतमा हुँदा नै थाहा पाए । तर, केही गर्न सकेनन् । त्यही बेला थुनामा रहेका रवि तामाङसँग उनको चिनजान भयो । तामाङले गौतमलाई आफूले नेपाल प्रहरीका एक पूर्वडीआईजी चिनेको भन्दै मुद्दा मिलाइदिने आश्वासन दिए । बाहिर निस्किएपछि सिन्धुपाल्चोक बाह्रबिसेका सोनाम लामालाई भेटाइदिए । लामाले आफू पूर्व डीआईजी भएको भन्दै उनको मुद्दाको सबै कुरा सुने ।
यस्ता अपराधको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएकाले मुद्दा मिलाउन झन् सजिलो हुने आश्वासन दिएका थिए । उनले नामसारी भएको जग्गा आफ्नै नाममा, प्रहरी हिरासतमा बस्दाको क्षतिपूर्तिलगायत सबै व्यवस्था हुने आश्वासन पनि दिएका थिए । उनले त्यही दिन राष्ट्रपति कार्यालय नजिकको एउटा रेस्टुरेन्टमा गौतमसहितका उनका आमाबुवालाई लिएर गएका थिए । खासमा ब्युरोका डीआईजीलाई भेटाउन लगेका लामाले आफूमात्र जान मिल्ने भन्दै रेस्टुरेन्टमा छाडेरभित्र छिरेका थिए । भित्र प्रहरीलाई दिनुपर्ने भन्दै ९० हजार रुपैयाँ पनि साथै लगेका थिए । उनले सीआईबीको गेटमा गएर कुनै एक प्रहरी अधिकारीलाई केही क्षण भेटेको ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) पीताम्बर अधिकारीले बताए ।

तपाइँको प्रतिक्रिया ।