बुटवलको तिनाउ नदीमा आएको बाढीले पुल बगायो

बुटवलको तिनाउ नदीमा आएको बाढीले पुल  बगायो

Tinau River Butawal

कपन  अनलाइन , ११ साउन ।

बुटवल, रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ ।

देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।

तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।

पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् ।

बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् ।

यसअघि सोमबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउमा आएको बाढीले आज बिहान नदी किनारमा रहेका अव्यवस्थित बस्ती उपमहानगरपालिका–७ का प्रगतिनगरमा १० घर र वडा नं १३ को मजुवामा पाँच घर बगाएको थियो ।

खतरामा रहेका बस्तीलाई अन्यत्र लैजान स्थानीयवासी र प्रहरी खटेकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । नदी किनारमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब ५०० बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दुर्गानगर, सीमानगर, खयरघारी लगायत २०० बढी घरमा पानी पसेको छ । रासस

तपाइँको प्रतिक्रिया ।