बौद्ध सिमलटारमा नेपालमै पहिलो महामृत्युञ्जय मन्दिर निर्माण गरिने

बौद्ध सिमलटारमा नेपालमै पहिलो महामृत्युञ्जय मन्दिर निर्माण गरिने

कपन अनलाइन, ५ साउन, २०७३

गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएका करिब नौ हजार मानिसको सम्झनामा काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारमा महामृत्युञ्जय मन्दिर निर्माण हुने भएको छ । मन्दिरको आज शिलान्यास गर्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मुलुकमा स्थिरताका लागि शान्ति, समझदारी र भाइचाराको आवश्यकता भएको बताए ।

148262_565858263441140_1578362750_n

“देशको विकासका लागि राष्ट्रिय एकता, इमान्दारिता, नैतिकता र सच्चा व्यवहार गरिनुपर्छ, अगाडि ठिक्क पार्ने पछाडि केही नगर्ने व्यवहार विकासको बाधक हो”–उनले भने । नेपालमै पहिलोपटक बन्न लागेको महामृत्युञ्जय महादेव मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने पूर्व अध्यक्ष रेग्मीले बताए । सांसद रामेश्वर फूयाँलले पहिलो महामृत्युञ्जय मन्दिरको निर्माणले बौद्ध, गोकर्ण, सुन्दरीजल र कागेश्वरीको धार्मिक पर्यटन विकास गर्न सकिने भएकाले राज्यको ध्यान जानुपर्ने बताए । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको मन्दिरका लागि सांसद विकास कोषबाट फुयाँलले रु १० लाख सहयोग गर्ने बताए । त्यसैगरी नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसेले धार्मिक गतिविधिबाट स्थानीयस्तरको विकास गर्ने जनताको हातमा सरकारले साथ दिनुपर्ने औँल्याए । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा लक्ष्मीकान्त पन्थीले पूर्वीय दर्शनको महिमा विश्वव्यापीरुपमा बढेका बेला नेपालमा संरक्षण गरिनुपर्ने आवश्यकता औँल्याए ।

भूकम्पको एक वर्ष पुगेका अवसरमा गत वैशाख ११ गतेदेखि १९ गतेसम्म आयोजित श्रीमद्भागवत महायज्ञबाट उठेको रु ४० लाख र स्थानीय साधन स्रोतबाट जुटाएको रु २० लाख गरी रु ६० लाखको लागतमा मन्दिर निर्माण हुने भागवत महायज्ञ आयोजक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।