महिनादिन बित्दा पनि घर फर्केनन्

महिनादिन बित्दा पनि घर फर्केनन्

कपन अनलाइन /धनकुटा, २४ असार ।

आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन् । स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र अन्यौल छाएको छ ।

Dhankuta

रूखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागाईंको मृत्यु भएपछि मलामी जान भनी गत जेठ १८ गते शिक्षक चापागार्इं अरुणघाट गएका थिए । डालेघाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका रेशनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । मृत्युपश्चात् दाहसंस्कारका लागि लेगुवाघाटमा मृतकको शव लगिएको थियो ।

शिक्षक चापागाईं पनि आफन्त पर्ने रेशनको दाहसंस्कारका लागि अपराह्न घाटतर्फ गएका हुन् । तर उनी घाट नै नपुगी बाटैबाट बेपत्ता भए । बेपत्ता भएको एक महिना बितिसक्दासम्म पनि चापागाईंका बारेमा कुनै अत्तो–पत्तो नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक दिनेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार शिक्षक चापागाईं अरुणघाटबाट करिब एक किलोमिटर माथिसम्म पुगेकोे स्थानीयवासीले देखेको भए पनि त्यसपछि भने सम्पर्कविहीन छन् ।

प्रहरीले हुलियासहित सबै ठाउँमा खोजतलास गर्दा पनि उनको अझै पत्तो लाग्न नसकेको अधिकारीले बताए । मलामी गएका शिक्षक बेपत्ता भएपछि स्थानीयवासी र आफन्तसँग सोधपुछ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । अन्य स्थानमा पनि खोजतलासको काम भइरहेको छ । बेपत्ता चापागाईंका श्रीमती, दुई छोरी र एक छोरा छन् । रासस

तपाइँको प्रतिक्रिया ।