नरमायालाई ०६१ सालमा सेनाले वेपत्ता पारेको छोरो अझै आउने आशा

 नरमायालाई ०६१ सालमा सेनाले वेपत्ता पारेको छोरो अझै आउने आशा

image-1

कपन अनलाइन, ३१ जेठ, २०७३

‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले बोलाए जस्तो लागेर घर वरिपरि खोज्ने गरेको सुनाउँछिन् । विपन्न परिवारका नरमायाका जेठा छोरा राजेन्द्र चम्लागार्इंलाई हातमुख जोड्नका लागि काठमाडौँको एक फर्निचर कम्पनीमा काम गर्दै गरेको अवस्थामा २०६१ साउन ४ गते तत्कालीन शाही सेनाले लगेर बेपत्ता पारेको थियो । तर, उनको अवस्था अझै अज्ञात छ अर्थात् उनी बेपत्ताको सूचीमा नै छन् ।

अझै छोरो आउने आश मारेकी छैनन् आमा नरमायाले । ‘त्यो कहाँ छ कहिले आउँछ ?’ गहभरि आँसु पार्दै नरमायाले भनिन् – “मेरो छोरा एक दिन आउँछ भन्ने लाग्छ ।” राजेन्द्र मात्र होइन, गोलधापकै खड्ग मोक्तानको पनि अवस्था थाहा छैन । उनकी आमा सञ्चमायाले भने छोरो आउने आश मारिसकेकी छन् । “मेरो छोरोलाई जसरी मारे त्यसरी नै ती अपराधीलाई मार्नुपर्छ”–उनी आक्रोश पोख्छिन् । उनले दोषीलाई कारबाही नभएसम्म न्यायको अनुभूति गर्न नसकिने बताइन् ।

विसं २०५२ देखि २०६२ सम्म मुलुक द्वन्द्वकोे चपेटामा परेको थियो । परिवर्तनका खातिर नेकपा माओवादीले हतियार उठाएपछि त्यसको प्रतिकारमा सरकार उत्रियो । सत्तापक्ष र विद्रोहीबीचको द्वन्द्वमा करिब १७ हजारले ज्यान गुमाए । हजारौँ बेपत्ता भए । त्यही द्वन्द्वले कैयौँ नेपाली आमाका काख रित्तिएका छन् । आज पनि बेपत्ता भएका आफ्ना छोराछोरी आउने आश मारेका छैनन् उनीहरुले । उनीहरुको एउटै माग छ – “अपराधीलाई कारबाही गरियोस् ।”

सरकारले द्वन्द्वपीडितलाई राहत दिने प्रक्रिया अघि बढाए पनि बेपत्ता परिवार त्यसमा सन्तुष्ट छैनन् । किनकी आफ्ना सन्तान गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् । त्यही भएर बेपत्ता पारिएका अझै पनि आउँछन् कि भनेर बाटो हेरिरहेका छन्, उनीहरुका परिवार । द्वन्द्वपीडितको पहिचान गर्न सरकारले गाउँस्तरीय शान्ति समिति निर्माण गरेको छ । हरेकजसो हुने कार्यक्रममा तिनै द्वन्द्वपीडित परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिन्छ । त्यसखाले कार्यक्रमले न्याय दिनुको सट्टा पीडा थपिने गरेको नरमाया बताउँछिन् । उनले भनिन्–“दोषीलाई कारबाही नभएसम्म सम्मानले न्यायको अनुभूति गर्न सकिँदैन ।” दशवर्षे सशस्त्र द्वन्द्वमा झापाबाट १९ जना बेपत्ता भएको शान्ति मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय शान्ति समिति झापामा बेपत्ता पारिएको भन्दै २५ वटा उजुरी परेको कार्यालयका प्रविर घोषले जानकारी दिए ।

-राससको समाचारमा आधारित

तपाइँको प्रतिक्रिया ।