क्षेत्र नं. ४ कांग्रेसमा गगन थापा र राजु श्रेष्ठ नामको डरलाग्दो खाडल

क्षेत्र नं. ४ कांग्रेसमा गगन थापा र राजु श्रेष्ठ नामको डरलाग्दो खाडल

ttt10कपन अनलाइन/समाचार विश्लेषण /०७३ बैशाख ११
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ को नतिजापश्चात देखिएको गुटगत विभाजन डरलाग्दो खाडलको रुपमा परिणत हुँदै गएको छ । १३ औँ महाधिवेशनमा क्षेत्र नं. ४ का सांसद गगन थापाका उम्मेदवार न्हुच्छेनारायण श्रेष्ठको हारपछि निम्तिएको गुटगत वेमेल तथा मतमतान्तर सामाजिक सन्जालहरुमा पनि छरप्रस्ट्रिन थालेको छ । १२ औँ महाधिवेशनमा सभापति बनेका न्हुच्छेनारायणलाई केन्द्रिय सदस्यसमेत रहेका गगन थापाले अनायासै सभापतिमा पुनः उम्मेदवार बनाएपछि कमजोर बनेको थापाको राजनीति अन्ततः क्षेत्रमा हार व्यहोरेका थिए । १२ औँ महाधिवेशनमा झिनो मतान्तरले जीत हासिल गरेका न्हुच्छेनारायणले राजु श्रेष्ठबाट १३ औँ महाधिवेशनमा हार ब्यहोर्दा  क्षेत्र नं. ४ को नेपाली कांग्रेसको राजनीतिमा बिभाजनको खाडल गहिरिएको हो । यस क्षेत्रमा सदाकालिनरुपमा एकअर्काको आलोचक बनेको युवा नेता तथा केन्द्रिय सदस्य गगन थापा र अर्का  नेता राजु श्रेष्ठबीचको द्वन्द्व १३ औँ महाधिवेशनमा राजु श्रेष्ठले क्षेत्रीय सभापति जितेपछि पार्टीलाई नै कमजोर देखिने गरी सतहमा पुगेको छ ।

सभापतिमा राजु श्रेष्ठले जितेपछि केन्द्रिय सदस्य तथा सांसदसमेत रहेका गगन थापाले बधाईसम्म दिएका छैनन् भने गगनको आलोचना गरेर नथाक्ने राजु श्रेष्ठ पनि क्षेत्रमा मनोनित गर्ने सदस्यदेखि सबै क्षेत्रीय निर्णयहरुमा आफ्नो वर्चस्व बनाएका छन् । दोस्रो संबिधानसभा निर्वाचनपश्चात गगन थापा र राजु श्रेष्ठ कुनै पनि मञ्चमा सँगै देखिएका मात्र छैनन् उनीहरुबीच संवादसमेत हुन सकेको छैन । क्षेत्रीय अधिवेशनमा गगन थापाले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु अहिलेको खाडल उब्जनुको मुख्य कारक तत्व मान्नेहरु एकातिर छन् भने अर्काेतिर राजु श्रेष्ठको गगन थापालाई देखि नसहने स्वभावले पनि समस्या बढ्दै गएको भन्नेहरुको मत पनि सानो छैन ।

सभापतिमा राजु श्रेष्ठको विजयपश्चात संगठन निर्माणका उनी बढि सक्रिय देखिए पनि उनले व्यालेन्स देखाउन सकेनन् भन्ने आरोप लागिरहेको बेला श्रेष्ठले गगन थापा पक्षीय क्षेत्रीय पदाधिकारी तथा सदस्यहरुलाई सूचनाको हकसमेत वञ्चित गरेको आरोप लागेको छ । त्यसैगरी वर्तमान क्षेत्रीय समितिलाई जसरी पनि असहयोग गर्ने सोचमा गगन थापा रहेको र अघोषितरुपमा समानान्तर कमिटि बनाएर क्षेत्रमा सक्रिय रहने निचोडमा पुगेको आरोप पनि सतहमा नै छ । विशेष गरेर विकास निर्माणको क्षेत्रमा क्षेत्रीय समितिलाई कुनै पनि कुरामा सहभागि नगराउने सोचमा गगन थापाको समूह लागेको आरोप छ  । विकास निर्माणका काम पार्टीको क्षेत्रीय कमिटिमार्फत गर्नुपर्ने भए पनि अझै न्हुच्छेनारायण श्रेष्ठलगायतका व्यक्ति गगन थापाको विकास बजेटमा सक्रिय रहेको देखिन्छ ।

क्षेत्रीय नेतृत्वमा देखिएको यो विशाल मतबिभाजन तथा गुटगत समस्यामा पार्टीका कार्यकर्ता रनभुल्लमा परेका छन् । कसलाई राम्रो वा कसलाई नराम्रो भन्ने समेत सोच्न नभ्याएका कार्यकर्ताहरुको भीड आफूतिर तान्न राजु श्रेष्ठ भरमग्दुर प्रयासमा देखिन्छन् । क्षेत्रीय सदस्यहरुको मनोनितमा तथा आमन्त्रित सदस्यहरुको मनोनितमा राजुले संगठनलाई ध्यान दिएको बताइन्छ । बाँकी मनोनितमा पनि पार्टीभित्र अबहेलनामा परेकाहरुलाई ध्यान दिने  उनले बताउदै आएका छन् । यद्यपि व्यापक बन्ने प्रयासमा रहेका राजु श्रेष्ठ सिमित व्यक्तिहरुका चंगुलमा नै परेका छन् भनिन्छ । राजु सदैव एकैखालका व्यक्तिहरुबीच र उनीहरुकै सल्लाहमा रहेका प्रति धेरैले निरुत्साहसमेत जनाएका छन् । विशेषगरी नगर प्रतिनिधिमा राजाराम बुढाथोकीलाई चयन गर्नुप्रति धेरैले राजुको अपरिपक्व निर्णय  बताए । यद्यपि राजु श्रेष्ठले संगठन निर्माणका लागि भनेर विविध सकारात्मक प्रयास सुरु भने गरेका छन् । क्षेत्रमा १६ वटा बिभिन्न बिभागहरु गठन गरेर पार्टीभित्रका सबैखाले व्यक्तिलाई सम्बन्धित क्षेत्रमा एकिकृत गर्ने उनको योजनालाई सबैले राम्रो भनेर प्रशंसा गरेका  छन् ।

महामन्त्रि पदमा उठेर सम्मानजनक मत प्राप्त गरेका सांसद गगन थापाले क्षेत्रीय समितिलाई असहयोग गरेको भन्ने आरोप चिर्न अझै कुनै ठोस कदम नउठाएको बेला राजु श्रेष्ठको कृयाकलाप पनि आरोपहिन भने पटक्कै देखिदैन । नाम बताउन नचाहने एक क्षेत्रीय सदस्यले सिमित व्यक्तिको चंगुलका कारण गगन थापा जसरी सांगठनिक रुपमा कमजोर भए त्यसैगरी राजु श्रेष्ठ पनि त्यही हालतमा पुग्न हुन् कि भन्ने डर रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।