विप्लव माओवादी केन्द्रीय सदस्य माईला लामा गिरफ्तार

कपन अनलाइन २०७३/बैसाख /१२ गते

प्रहरीले नेकपा माओवादी विप्लव समूहका काठमाडौं जिल्लाका ईन्चार्ज एंव पार्टी केन्द्रीय सदस्य सहित १ दर्जन नेता कार्यकर्तालाई कपनको बालउद्धार उच्च मावि प्राङ्गणबाट प्रकाउ गरेको छ ।

13062007_1004874276233661_5920878191814565156_n

नेकपा माओवादी काठमाडौंको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम समापन भएर फर्कने क्रममा कार्यक्रम स्थलबाटै लामा सहित पार्टीकै केन्द्रीय सदस्य धन बहादुर महर्जन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवि देवकोटा, पार्टी जिल्ला सदस्य ज्ञानेन्द्र सहित अन्य ८ जनालाई प्रहरीले प्रकाउ गरेको माओवादीका एक नेताले कपन अनलाईनलाई बताए ।

सादा पोसाकमा आएका प्रहरीहरूले लामा सहित अन्य कार्यकर्तालाई व्यापक धरपकड सहित प्रकाउ गरेको प्रत्यक्षदर्शीले जनाए । दिनभर चलेको प्रशिक्षण कार्यक्रम अवधिभर पनि प्रहरी कार्यक्रम स्थल बालउद्धार उमाविको चारैतिर छरिएर बसेका पनि स्थानीय प्रत्यक्षदर्शीले बताए । बौद्धका प्रहरी डिएसपीकै कमाण्डमा आएको प्रहरीले माओवादी कार्यकर्तालाई प्रकाउ गरेको पनि बताईएको छ ।

13087515_1004874289566993_4274337855183052800_n

प्रकाउ परेका माओवादी नेता कार्यकर्तालाई महानगरीय प्रहरी वृत्त वानेश्वर लगिएको बुझिएको छ । यस सन्दर्भमा कपनअनलाइनले माओवादी नेता कार्यकर्ता प्रकाउ पर्नुका बारे बुझ्न खोज्दा बौद्ध प्रहरी बृत्तका डिएसपीले बानेश्वर प्रहरी बृत्तका नारायण चिमोरियासँग जानकारी लिनलाई बताए भने वानेश्वरका डिएसपीले आफूकोमा माओवादी नेताहरू आइनपुगेको बताए ।

यसैबीच माओवादी पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्माले प्रकाउ परेका नेता कार्यकर्ताको तत्काल रिहाईका लागि माग गरेका छन् ।

करिव ३०० जना अगुवा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा माओवादीका पोलिट ब्युरो सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्यहरू माईला लामा लगायत भर्खरै एमाओवादी परित्याग गरेका एमाओवादी क्षेत्र नं ४ का ईन्चार्ज एंव एमाओवादी नेवा राज्य ईन्चार्ज झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी ‘प्रयास’ को आतिथ्यता रहेको माओवादीले बतायो ।

कपनअनलाइनका पत्रकारमाथि पनि प्रहरीको दुर्व्यवहार

माओवादी नेता प्रकाउ गर्दै गरेको फोटो क्यामेरामा कैद गरेका कपनअनलाइनका पत्रकारलाई पनि प्रहरीले दुर्व्यवहार गरेको छ । कपन अनलाईनका फोटो पत्रकारको  क्यामेरामा रहेको फोटो पनि प्रहरीले जवरजस्ती डिलिट गरिदिएको छ ।

तपाइँको प्रतिक्रिया ।