एमाले क्षेत्र नं ४ अधिवेशनको रन्को, अध्यक्ष र सचिवमा आकांक्षी धेरै

एमाले क्षेत्र नं ४ अधिवेशनको रन्को, अध्यक्ष र सचिवमा आकांक्षी धेरै

अशोकराज पाण्डे/माघ २१
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ को चैत्र १३ र १४ गते हुने अधिवेशनको माहौल विस्तारै तात्न थालेको छ । हालसम्म अध्यक्षमा एकजना आकाक्षी देखिएका छन् भने सचिवमा आकांक्षीको लर्को लागेको छ ।
हालका अध्यक्ष कुसुम कुमार कार्कीले नै अध्यक्ष दोहोर्याउने इच्छा प्रकट गरेपछि अहिले सम्म खुलेरै अध्यक्षका लागि कोहि पनि आएका छैनन् तरपनि वर्तमान सचिव टिका पराजुली क्षेत्रीय ईन्चार्ज शिव भट्टराई र पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य उद्धव खरेल पनि अध्यक्षमा इच्छुक रहेको हल्लाले माघको चिसोमा पनि क्षेत्र नं ४ एमाले तातेको छ भने वर्तमान उपाध्यक्ष लक्ष्मी संग्रौला आफूलाई स्वभाविक उम्मेदवार भएको दावी गर्दछन् ।
अध्यक्षमा इच्छा गर्ने धेरै भएपनि हालसम्म उपाध्यक्षमा कोहि आकांक्षी देखिएका छैनन् । तर, सचिव पदमा भने धेरै आकांक्षी देखिएका छन् । हालसम्म सचिवमा क्षेत्रीय कमिटि सदस्य पुण्यराज पुडासैनी, निरन्जन नेपाल, राजन पोखरेल तथा पूर्व कपन गाउँ कमिटि अध्यक्ष ध्रुवराज न्यौपानेले दावी गरेका छन् ।
स्पष्ट रुपमै दुई खेमामा विभाजित एमाले क्षेत्र नं ४ मा संस्थापन (केपी ओली) पक्षको नेतृत्व उपाध्यक्ष लक्ष्मी संग्रौलाले र माधव नेपाल पक्षको नेतृत्व कुसुम कुमार कार्कीले गरेका छन् । ५१ सदस्यीय कमिटिमा करिब दोब्बर आकांक्षी देखिने सम्भावना रहेको छ ।
संविधान सभा निर्वाचनमा क्षेत्र नं ४ मा लज्जास्पद हार खाएपछि एमाले क्षेत्र नं ४ मा वर्तमान नेतृत्व प्रति कार्यकर्ताको ठूलो गुनासो रहेको छ । एमाले ४ का कार्यकर्ताहरु भने वतर्मान सम्पूर्ण नेतृत्व परिर्वतनको पक्षमा रहेको एक क्षेत्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा कपनअनलाइनलाई बताए ।
अघिल्लो अधिवेशनमा वर्तमान संस्थापन पक्षबाट कुसुम कुमार कार्की अध्यक्षमा लडेका थिए भने उनका प्रतिस्पर्धी ठाकुर खकुरेल रहेका थिए । तिव्र गुटबन्दीका कारण पराजित भएपछि ठाकुर खकुरेल, ध्रुव नेपाल, गोविन्दकृष्ण अधिकारी र शशि पाण्डे सहित केहि कार्यकताहरु एमाले छोडेर एमाओवादी प्रवेश गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।