छठ पर्वको सकारात्मक संदेश
कपन अनलाइन
काठमाडौं ,मंसिर ५ /घनश्याम कोइराला
अहिले छठ पर्व प्रारम्भ भएको छ । सामान्यतः कात्तिक शुक्ल चतुर्थीकै दिनदेखि सुरु हुने यो पर्वको समापन कात्तिक शुक्ल सप्तमीको दिन हुन्छ । नेपाल, खास गरी तराई क्षेत्र र उत्तर भारतमा बडो उत्साहपूर्वक आस्था–निष्ठासाथ मनाइने यो पर्व अहिले नेपालका अन्य क्षेत्रमा समेत मनाइन्छ ।
हाम्रो धर्म र संस्कृतिको आधार मूलतः प्रकृति नै रहेको छ । पर्वका अवसरमा प्रकृतिका शक्ति र विशेषताहरूको उच्च सम्मान स्वरूप पूजा गर्ने, पूजितको महिमाको श्रद्धापूर्वक स्मरण गरी दायित्वका लागि संकल्प लिने काम गरिँदैआएको देखिन्छ । यसलाई थप जागरण र समाजोपयोगी बनाउन सकिने देखिन्छ ।
छठ पर्व यस्तै पर्व हो । छठमा मूलतः सूर्यको पूजा गरिन्छ । सूर्य ग्रहहरूका नायक हुन् । प्राकृतिक ताप र उज्यालोका स्रोत हुन् । सूर्यलाई रंगहरूको स्रोत पनि मानिन्छ । सूर्य प्रत्यक्ष देवता हुन् । उज्यालो, अँध्यारो, फक्रने, उम्रने, पूmल्ने, फल्ने, पाक्ने प्रक्रियाका शक्ति सूर्यकै शक्ति हो । स्वच्छ सूर्यको रश्मिमा अनेकौँ सन्निहित रहेको बुझन गाह्रो छैन । सूर्यको शक्तिलाई मूलशक्ति मान्ने धार्मिक मत पनि रहेको देखिन्छ, जसलाई ‘सौर’ भनिन्छ र सनातनीहरूले सृष्टिका पाँच मुख्य दैवी शक्तिका रूपमा पूजा गर्दछन् । छठमा छठी माताको पनि पूजा गरिन्छ । मातृप्रधान पर्वको रूपमा रहेको हुनाले छठी माताको पूजाको पृथक र विशिष्ठ अर्थ रहेको छ ।
सनातन संस्कृतिका अनुयायीहरूले मूलतः पाञ्चायन पूजा गर्दछन् । पाञ्चायनभित्र पाँच शक्तिको पूजा हुन्छ । शब्दको अर्थका हिसाबले ‘पञ्च’ भनेको पाँच र ‘अयन’ भनेको घर वा पथ हो । यही पाँच शक्तिमध्ये एक्ला एक्लैको पूजा गर्नु पन्थ वा मत हो भने सबैलाई समान रूपले मान्नु सनातन हो । यही सबै मान्नेहरू समग्रमा मान्नेहरूको पहिचान हिन्दू हो । तर, हिन्दू या सनातनीको मापदण्ड र पहिचानको आधार यत्ति मात्र हो भनेर भने बुझन हुँदैन ।
पाञ्चायनका पाँच शक्ति कुन कुन हुन् त ? सनातनीहरूका पाँच पूज्य हुन् गणपति, सूर्य, देवी, शिव र विष्णु । यीमध्ये फरक फरकलाई मान्ने मत विकास गरी त्यस अनुसारको पथ अवलम्बन गर्नेहरू पनि छन् । गणपति (गणेश)लाई सर्वाेपरि ठान्ने गाणपत्य हुन् । सूर्यलाई सर्वाेपरि मान्ने सौर हुन् । देवीलाई प्रमुख मान्ने शाक्त हुन् । शिवलाई मुख्य मान्ने शैव हुन् । विष्णुलाई प्रमुख मान्ने वैष्णव हुन् ।
प्राचीन हिन्दूहरू पूजा पद्धति, पन्थ वा विश्वासका आधारमा यसरी बाँडिएका थिएनन् । यस्तो विचार वा पन्थका कोही प्रवर्तक नभएको हुनाले र यी परम्परा कहिलेदेखि प्रारम्भ भए भन्ने कुनै मिति निर्धारित नभएको हुनाले यिनलाई सनातन भनिएको हो । पछि देश, काल, परिस्थिति र आवश्यकताका आधारमा समाजलाई खास ढंगले अघि बढाउन फरक फरक विद्वानहरूले यिनै पाँच शक्तिमध्ये कुनै एउटामा आधारित पन्थ विकास गरिएको देखिन्छ ।
यद्यपि यिनीहरूलाई धर्म भनियो, वास्तवमा यी धार्मिक मत, विश्वास, विचार वा पन्थ(सम्प्रदाय) हुन् भने ‘सनातन धर्म’ जीवन व्यवहार र संस्कृतिको रूपमा विकसित हुँदै आएको देखिन्छ । सनातन संस्कृतिका पर्व–उत्सवहरू मनाउँदा प्रकृति, पशु–पंक्षी, मानिस,समाज, उत्पादन, दायित्व आदिमा केन्द्रित रहेर मनाइएको हुन्छ । हरेकका अन्तर्निहित अर्थ, सामथ्र्य र सन्देश छन् ।
यी सबै विषयसँगै छठ पनि जोडिएको छ । छठ पर्वको मुख्य दिन भनेको षष्ठी तिथि हो । चतुर्थीबाट प्रारम्भ भई सप्तमीमा सकिने यस पर्वको केन्द्रीय दिन षष्ठी रहेको हुनाले पनि यसलाई छठ भनिएको हो । यस पर्वलाई ‘सूर्य षष्ठी’ पनि भनिन्छ । ठूलो उत्सवको रूपमा कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि वर्षमा दुई पटक यो पर्व पर्दछ । अर्को छठ चैतमा पर्ने भएको हुनाले ‘चैती छठ’ भनिन्छ ।
अहिले सामाजिक समानताको बोध बढ्दै गरेको हुनाले पुरुषले पनि यो छठ व्रतका व्रतीका रूपमा सहभागी हुने क्रम देखिन्छ । तर, मूलतः महिलाहरूले पति र सन्तानको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धिका लागि व्रत बस्ने प्रचलन हो । महिलाहरू मातृशक्ति हुन् । पारिवारिक दायित्वका हिसाबले आमाहरूले घरको काम गर्ने जिम्मेवारी रहँदैआएको देखिन्छ । यस्तो हुनुको कारण महिलाहरूको कमजोरी नभई तात्कालिक परिस्थिति हो ।
आमाहरू सन्तानका लागि जस्तोसुकै दुःख–कष्ट भोग्न र त्याग गर्न सक्दछन् भन्ने अनेकौँ उदाहरणमध्येको एउटा छठको कठोर व्रत हो । यसबाट महिलाको पति(पुरुष) र सन्तान प्रतिको एकोहोरो र निरपेक्ष दायित्वको हिसाबले बुझियो भने गलत हुनेछ । यसलाई आमाहरू(महिला)प्रति पति(पुरुष) र सन्तानको दायित्व स्मरण गर्नुपर्ने पर्वका रूपमा बुझन आवश्यक छ ।
शास्त्रीय सन्दर्भहरूभन्दा पनि तराईको बासिन्दा र भारतका विभिन्न क्षेत्रमा पर्व–व्रतमा दर्शनार्थी सहभागी भएको आधारमा यसका प्रक्रिया जटिल र नियमसंगत छन् । कात्तिक शुक्ल चतुर्थी यसको पहिलो दिन हो । यस दिन श्रद्धालु व्रतीहरूले मात्र नभई घरमा कसैले पनि माछामासु खाइँदैन । यस दिन पूरा घर चोख्याइन्छ र नुहाइ–धोइ गरी चोखोनितो गरी शुद्ध खाना खाने गरिन्छ ।
पञ्चमी तिथि यस पर्वको दोस्रो दिन हो । यस शुद्धतापूर्वक बसिन्छ । शुद्धतासाथ व्रतको तयारी गरिन्छ । दिनभरि खास गरी यस दिन खिरको प्रसाद बनाई छठी माताको नाममा समर्पण गरेर प्रसादको रूपमा त्यही खिर खाइन्छ ।
तेस्रो दिन षष्ठी तिथि नै यस पर्वको मुख्य दिन हो । यस दिनभरि निर्जल उपवास बसी अनेकौँथरि पकवान्न फलफूल सहित छठीमाताको पूजा गरिन्छ र अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । रातभर जाग्राम बसी चौथो दिन (सप्तमीको) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन यस व्रतको विधिवत समापन गरिन्छ । यस क्रममा मान्यजनलाई ढोगभेट गरी आशिर्वाद लिने पनि गरिन्छ ।
यसरी यो पर्वले नुहाउने पानी र पानीका स्रोतहरूको शुद्धताको चेतना विस्तार गर्न सहयोग पु¥याउन सक्दछ । सूर्यको स्वच्छ प्रकाशका लागि वातावरणीय शुद्धताको चेतना जगाउन सकिन्छ । घरका अग्रजहरूप्रति मानसम्मान पर्व विशेषमा मात्र नभई सधै गर्नुपर्ने दायित्व बोध गर्न सकिन्छ । सफा पानी, स्वच्छ वातावरण, परिवारका लागि समर्पण, समर्पणकोको मूल्यबोध, घरका जेष्ठव्यक्तित्वहरूको सम्मान र वहाँहरूप्रतिको दायित्व आदि विषयहरू यस पर्वले दिने सन्देश हुन् । यी सन्देशहरू कुनै क्षेत्र, वर्ग, जाति, लिङ्गविशेषका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण छन् ।
सबै परम्परा, संस्कृति र पर्व–उत्सवहरूलाई मानव जीवन र यसका विभिन्न पक्षहरूसँग जोडेर हेर्ने, बुझने र मनाउने गर्न सके संस्कृतिको संरक्षण र संवद्र्धन हुन सक्दछ भने यसो गर्न नसक्दा नयाँ पुस्ताले ग्रहण गर्न नसक्ने र औचित्य समाप्त हुँदै जान्छ ।
छठ पर्वको मौलिक सन्दर्भको जानकारी विस्तार गरी जीवनोपयोगी सार्थक संस्कृतिको रूपमा थप विकास गर्न आवश्यक छ । प्रकृति र मानव जीवनसँग जोडिएको छठ पर्वले अनेकौँ सन्देश बोकेको छ । मानव समाजको अध्ययनको अन्तर्वस्तु यसमा समेटिएको छ । त्याग, समर्पण, निष्ठासँग जोडिएको पर्व छठ हाम्रो सांस्कृतिक पहिचान पर्व हो । छठको उपलक्षमा हार्दिक शुभकामना ।साभार : चक्रपथ डट.कम