गयो दसैँ, तिहारलाई स्वागत गरौँ !
कपन अनलाइन
काठमाडौं ,कार्तिक २६/ घनश्याम कोइराला
पर्वहरू मनाउँदा पर्वको उत्पत्ति, आसय, अवस्था र आधारलाई ध्यान दिएर मनाउँदा मात्र यिनीहरूको मौलिकता जोगिन्छ, बिकृति आउँदैन र यसले उचित लाभ प्रदान गर्न सक्दछ । सबैलाई आ—आफ्नै संस्कृति मन पर्छन् । संस्कृतिको सम्बन्ध सम्बन्धित भूगोल, प्रकृति, बसोवासको अवस्था, उत्पादन, स्रोत—साधन आदिसँग हुन्छ । यी अवस्थाहरू विविध हुने भएकोले यसमा विविधता हुने हो । हाम्रा धर्म, संस्कृति र परम्परासँग जोडिएका चाडपर्वहरू निश्चित तिथि, घडि, पलामा आधारित छन् ।
सबै चाड—पर्वहरू एकैपटक ह्वात्त बाहिर आएका पक्कै होइनन् । चाडबाडका सार र स्वरूपलाई गहिरिएर हेर्दा खास प्रसंग र औचित्यका आधारमा विभिन्न दिनहरूलाई चाड—पर्वका रूपमा सूचीबद्ध गरिएको देखिन्छ । यी पर्वहरू धर्मसँग, प्रकृतिसँग, संस्कृतिसँग, इतिहाससँग सम्बन्धित छन् । कतिपय पर्वहरू यस्ता पनि छन्, जसको इतिहास भेटिँदैन, तर परम्परादेखि मनाइँदै आइएको छ । सहजताको लागि केही विशेष प्रावधानहरू, प्रवन्धहरू पनि निर्धारित छन् । यिनीहरूको प्रारम्भ र समापनका विधान छन् । कतिपय विषय समय परिस्थितिले विगतमा जस्तै, जस्ताको तस्तै गर्न नसकिने हुनसक्दछ । तर यिनीहरूलाई परम्पराको नाममा यथास्थितिमा राख्न हुँदैन भने परिवर्तन र काल—परिस्थितिको नाममा भड्किलो र भद्दा बनाउनु पनि उचित हुँदैन ।
दसैँ नेपाली समाजको मौलिक सांस्कृतिक पर्व हो । समाजमा अनेकौँ बहुलता हुन्छ र छ । बहुलता सामाजिक स्वरूपमा छ, संरचनामा छ र मनोविज्ञानमा पनि छ । यसैमा अन्तर्विरोध र द्वन्द्व पनि पनि छ र यस विषयमा व्यापक वहस पनि छ । युद्धको प्रसंगबाट हुर्किआएको हुनाले यसको अन्तर्वस्तुमा शत्रुताको आभास आभासित हुनुलाई अनौठो मान्न पर्ने केही छैन । तर, हामी सामाजिक द्वन्द्वको त्यस अवस्थामा छैनौँ कि हामी एकापसमा प्रत्यक्ष भिडन्त गर्न परोस् ।
‘विजया दशमी’मा सीमित नपारिएको पर्वको रूपमा मनाउनु र यसका अनेकौँ कालजयी जीवनोपयोगी सन्देशहरूलाई जीवन्त राख्न दसैँ मनाउनै पथ्र्यो । यी अनेकौँ सकारात्मक अर्थमा दसैँ मनायौँ । दसैँ असोज शुक्ल प्रतिपदादेखि यही दशमीसम्म कम्तीमा १० दिन मनाइन्छ । केही खास अवस्था र कारणले कहीँ कहीँ कोजाग्रत पुर्णिमासम्म मनाउने प्रचलन रहेको छ । यो पनि आफैमा मौलिक प्रचलन हो । कुनै पनि चाडपर्वलाई परम्परा मात्र धान्ने हिसाबले मनाउनुभन्दा यिनका खास पक्षलाई सामाजिक जीवन मूल्यसँग जोडेर विकास गर्ने गरी मनाउने गरियो भने सुन्दर र समयसापेक्ष संस्कृति विकसित हुनेछ । यस पक्षमा कमै ध्यान दिइएको पाइन्छ ।
अहिले हाम्रो अर्को ठूलो चाड तिहार आएको छ । तिहारलाई पनि ‘दीपावली’मा साँघुरो पारिँदै गरेको देखिन्छ । दीप+आवली = दीपावली अर्थात् बत्तीहरूलाई लहर मिलाएर राखिने भनिएको हो ।
यस अवधिमा गरिने कर्ममध्ये यो त एउटा कर्म हो । यो पर्व कृष्णपक्षमा पर्दछ । पर्वलाई, पर्वका रात्रीहरूलाई उज्यालो पार्न सुरुदेखि नै बत्ती बाल्नपर्ने भएकोले यी दिनहरूलाई एकमुष्ट रूपमा ‘दीपावली’ नै भन्ने पनि गरिएको छ । यद्यपि सिंगो पर्वको नामकरणको हिसाबले यो सही होइन, किन भने दीप—दीपहरूको, आवली—लस्कर (लहर) दीपावली हो । धेरै बत्ती लहर मिलाएर बाल्नु एउटा काम अवश्य हो, तर यो पर्वको नाम नै दीपावली भन्न मिल्दैन । पौराणिक हिसाबले यो पर्व ‘यमपञ्चक’ हो । नेपाली विशिष्टतामा यो तिहार हो । क्रियाकलापका हिसाबले मनोरञ्जनका लागि तास खेल्ने, देउसिरे—भैलो खेल्ने, टीका—माला लाउने, राम्रो लाउने, मीठो खाने आदि विषयहरू यसमा पर्दछन् ।
कुनै पनि पर्वको सम्बन्ध मानिसहरूको काम, व्यवसाय, साधनस्रोत र समयको उपलब्धता तथा औचित्य र व्यवस्थापनमा आधारित हुन्छ । हिन्दु समुदायका सबैले सबै गर्ने र मनाउने भए पनि प्रायः व्यापारी समुदायले लक्ष्मीपूजामा जोड दिने, किसानले गाईगोरू, काग, कुकुर पूजामा ध्यान दिने, चिकित्सा क्षेत्रकाले धन्वन्तरीको महत्वमा ध्यान दिने गरिएको पाइन्छ ।
भाषिक हिसाबले ‘त्यौहार’बाट बनेको जस्तो देखिने ‘तिहार’ नेपाली जनजिब्रोले उच्चारण गर्दछ । तिहार एक दिवसीय आयोजन होइन, यो कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने अर्थपूर्ण महोत्सव हो । यी पाँच दिन शास्त्रीय मान्यतामा ‘यमपञ्चक’ हो । यसका अनेकौँ आयाम मध्येको एउटा हो— यी पाँच दिन मृत्युका देवता ‘यम’ आफ्नी बहिनी ‘यमुना’को घरमा आएर बसेका थिए । यति व्यस्त व्यक्तित्वले आफ्नी बहिनीको घरमा बसेर विदा मनाएको हुनाले यमसँग बहिनी खुसी भइन् । र, सबैलाई यसै गर्न शुभेच्छा प्रकट गरिन् । यो कुरा अत्यन्त भावनात्मक विषय हो । दाजु—बहिनी बीचको प्रेमको उदाहरण हो । यसबाट हामी आजका दाजुभाइ—दिदीबहिनीले प्रेरणा लिनुपर्छ । तर ‘यमपञ्चक’सँग यति मात्र सम्बन्ध होइन । यसका अन्य आयामहरू पनि छन् ।
चाडपर्वमा शुभकामना दिनुलिनु स्वाभाविक हो । शुभकामना पनि पर्व सुहाउँदो सन्देश हुन आवश्यक हुन्छ । हरेक पर्व र अवसरमा एकै खालको शुभकामनाले संस्कृति वहन गर्न सक्दैन ।
शुभकामना दिने क्रममा केही बिकृति हुर्किरहेको देखिन्छ । पर्व नआइपुग्दै अर्कैले, अर्कैका लागि बनाएका शुभकामनाका ‘सक्कलबमोजिम नक्कल दुरुस्त’ भनेझैँ गरी बनिबनाउ स्टीकर÷पोस्टर पठाउन उछिना—पाछिना गर्ने प्रचलन हुर्किरहेको छ । यसो गर्नाले आफ्नै मन—भावनाको शुभकामना जाँदैन । त्यसैले यस्तो गर्नु राम्रोहोइन । जस्तो जानिन्छ त्यस्तै दुई—चार शब्द आफैले लेखेर दिइने शुभकामनामा आत्मीयता हुन्छ । नत्र पर्वहरू प्रतिको यो आकर्षण कुनै दिन औपचारिकता र विकर्षणमा फेरिन कत्ति बेर लाग्ने छैन ।
तिहारका पाँच दिनलाई क्रमबद्ध रूपमा भन्नुपर्दा सबैभन्दा पहिला कागका गुणहरूको सम्मान गरिन्छ । शास्त्रमा ‘वायसात् पञ्चशिक्षेत् — कागबाट पाँच कुरा सिक्नू’ भनिएको छ । कागतिहारकै दिन चिकित्सा क्षेत्रका मानिसहरू प्राचीन चिकित्सा प्रणालीका प्रणेता धन्वन्तरी जयन्ती मनाउँछन् । खास गरी आयुर्वेद क्षेत्रले आयुर्वेदका जनक÷औषधिविज्ञानका प्रवर्तक धन्वन्तरीको जन्मोत्सव मनाउने विषयसँग हाम्रो तिहारभित्र स्वास्थ्यको विषयले पनि महत्व पाएको देखिन्छ । तिहारको खानपान पूर्व नै मनाइने धन्वन्तरी जयन्तीलाई ध्यान दिनु भनेको स्वास्थ्यलाई ध्यान दिनुको अर्थमा सम्झन सक्दा सबैको हित हुनेछ ।
चतुर्दशीको दिन कुकुरको पूजा गरी कुकुर तिहार मनाइन्छ । शास्त्रमा ‘षट्शून— अर्थात् कुकुरबाट छ कुरा सिक्नू’ भनिएको छ ।
तिहारका दिनहरूमा सुरुदेखि नै पंक्तिबद्ध दीप बाल्ने प्रावधान छ । तर कात्तिक कृष्ण अमावस्याको रात सर्वाधिक अँध्यारो हुन्छ भन्ने मानिन्छ र यसलाई ‘सुखरात्री’ बनाउन थप दीपावली गरिन्छ । यस दिन बिहान गाईको पूजा गरिन्छ ।
गाईको पूजा गर्नु भनेको गाईका गुण—विशेषताहरूलाई उच्च महत्व दिनु हो । गाईका अनेकौँ राम्रा गुण—विशेषताहरू छन् । दुध दिने, वृक्ष—वनस्पति तथा अन्न उत्पादनका लागि आवश्यक मल—मुत्र दिने, बाच्छा—बाच्छी दिएर गोवंश वृद्धि गर्ने आदि योगदानका कारण गाईलाई समृद्धिसँग जोडेर हेर्न सकिन्छ । गाईबाट प्राप्त हुने दुधजन्य परिकारहरू स्वास्थ्यको लागि हितकर हुने हुँदा गाईको थप महत्व छ । गाईको गोबरले लिपेको स्थान सफा र किटाणु रहित हुन्छ भन्ने मान्यता रहेको छ । गाईको मूत्र (गोमुत्र—गहुँत) लाई पवित्र एवं स्वास्थ्यवद्र्धक मानिन्छ । गाई स्वस्थ तन, स्वच्छ मन, धन दिने पशुप्राणी हो । यसै दिन लक्ष्मीपूजा गरी समृद्धिका लागि, रात्री अर्थात् मानवीय प्रयत्नले अन्धकारलाई जित्ने गरी, उज्यालोले झकिझकाउ जीवनको प्रतीकका रूपमा धेरै दीपहरू बालिन्छ । यी विषयलाई मानिसको जीवनसँग जोडेर हेर्न र बुझ्न प्रयत्न गर्दा मात्र पर्वलाई संस्कृति बनाउन सकिन्छ ।
प्रतिपदाकोे दिन गोरुको पूजा गरिन्छ । मानिसको जीवनका लागि आवश्यक अन्नादि उत्पादनमा गोरुको भूमिकाको सम्मान नै वास्तवमा गोरु पूजाको अन्तर्वस्तु हो । त्यसै दिन गोवद्र्धन पर्वतको आकार बनाएर पूजा गर्ने प्रचलन पनि रहँदैआएको छ । यस विषयमा पौराणिक कथा पढ्न पाइन्छ । गोकुलमा रहेको गोवद्र्धन पर्वत जनसमुदायको एकताको बलमा इन्द्रको सेखी झार्न श्रीकृष्णले ‘कान्छी औँलाले’ उचालेको मानिन्छ । यसको तात्पर्य योजनाबद्ध कृषिकर्म(उत्पादनशील काम) र एकताबद्ध जनशक्तिले जस्तोसुकै शक्तिशालीलाई परास्त गर्न तथा असम्भवजस्तो लाग्ने काम सफल गर्न सकिन्छ भन्ने हो ।
हाम्रो समाजमा नेवार समुदायका मानिसहरूले यस अवसरमा ‘ह्म पूजा’ अर्थात् आत्मपूजा गर्ने परम्परा प्रचलित छ । यस्तो अन्यत्र कहीँ हुँदैन, यो पनि हाम्रो तिहारको मौलिक पक्ष हो । तिहारको सन्दर्भमा यसलाई पनि हामीले मौलिक सम्पदाको रूपमा लिन आवश्यक छ ।
तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौँ दिन भातृ द्वितीया हो ।
यसलाई चलनचल्तीमा भाइटीका भनिन्छ । यस दिन दाजुभाइ—दिदीबहिनीले एकापसमा सप्तरङ्गी टीका लगाउँछन् । माला लाउँछन् । दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई उपहार, मसला, गतिला खानेकुरा खुवाउने प्रचलन रहेको छ । यो दाजुभाइ र दिदीबहिनी बीचको अत्यन्त आत्मीय तथा सुमधुर सम्बन्धको पर्व हो । भाइ तिहार वा भाइटीका भनिंदा कतिपयमा बहिनी र दाजुको प्रसंग नभएको जस्तो देखिन्छ, तर त्यस्तो होइन । यस दिनलाई संस्कृत भाषामा ‘भातृ द्वितीया’ भनिन्छ र यसले दाजु र भाइ दुवैलाई बुझाउँछ ।
यस पर्वको मूलवस्तु यम र यमुना हुन् । यम दाजु र यमुना बहिनी हुन् ।
शास्त्रीय मान्यता अनुसार यम मृत्युको देवता हुन् । यमको गूढार्थ निषेधात्मक नियम हो । यस्तो नियम कठोर हुन्छ । त्यसैले शास्त्रहरूमा यम र नियम सँगसँगै प्रयोग हुँदैआएका शब्द पनि हुन् । यस अर्थमा यम भन्नाले गर्न नहुने विषय हो । जो यस प्रकार रहेको छ : अहिंसा (हिंसा नगर्नु) अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य(इन्द्रियलाई छाडा नछोड्नु), अपरिग्रह (लोभी नहुनु) हुन् । त्यस्तै, नियम भन्नाले सत्य, शौच (स्वच्छ), सन्तोष, तपस (कठोर परिश्रम), स्वाध्याय (नियमित अध्ययन), ईश्वरप्रणिधान (ईश्वरप्रति समर्पण) आदि भनिएको छ । ‘दीपावली’ले यी सन्देश दिँदैनन् ।
हुन त शास्त्रहरूका आ—आफ्नै कालखण्ड भएको हुनाले सबैमा मतैक्यता पाइँदैन ।
परम्परा पनि ठ्याक्कै मिल्छ भन्ने छैन । कठोरता, सहजता पनि समयसापेक्ष भएका छन् । तथापि, शास्त्रीय मान्यता अनुसारका चाडपर्वहरूले जीवनका सबैपक्ष समेटेका हुन्छन् । तिहार वा यमपञ्चक जीवनका धेरै पक्ष समेटिएको विशिष्ठ पर्व हो । आफै बुझौँ र विश्लेषण गरौँ त — के दीपावली÷दिवालीले यतिका धेरै विषय वहन गर्न सक्छ ? सक्दैन । त्यसैले दीपावली होइन, पाँचै दिन समेटिने‘तिहार’ भन्नु सान्दर्भिक हुन्छ ।
परिश्रम, पराक्रम, उत्पादन, प्रेम, आपूm स्वयं र स्वास्थ्य, सद्भावको माध्यमबाट सबैका गुण बटुल्ने र गुणहरूको सम्मान गर्ने अनि जीवन उजेल्ने पर्व तिहार हो । नेपालको मौलिक पर्व तिहारलाई दीपावलीमा सीमित नपारौँ ।