‘प्रत्यागमन’ कथाको शैलीवैज्ञानिक अध्ययन

‘प्रत्यागमन’ कथाको शैलीवैज्ञानिक अध्ययन

कपन अनलाइन

काठमाडौं ,कार्तिक १८ /यादप भट्टराई 

शब्दसार
कृतिको मूल्याङ्कन तथा विश्लेषण गर्ने वस्तुपरक आधार शैलीवैज्ञानिक अध्ययन पद्धति हो । कृति विश्लेषणलाई वैज्ञानिक, वस्तुपरक र वर्णनात्मक बनाउन शैलीवैज्ञानिक अध्ययन पद्धतिलाई अपनाउँनु अनिवार्य छ । कृति विश्लेषणमा शैलीवैज्ञानिक अध्ययन पद्धतिको अतुलनीय भूमिका रहने भएकाले यस परिच्छेदमा मूलतः शैलीविज्ञानसँग सम्बन्धित शैलीको परिचय, शैलीविज्ञानको परिचय, शैलीविज्ञानको सैद्धान्तिक स्वरूप र कृतिविश्लेषणको शैलीवैज्ञानिक आधारको विश्लेषण गरिएको छ । प्रत्यागमन कथाको कथावस्तु, पात्र वा चरित्र र भाषा वैज्ञानिक अध्ययन गरिएको छ ।

परिचय
कुनै पनि कृतिको मूल्याङ्कन तथा विश्लेषण गर्ने वस्तुपरक आधार शैली वैज्ञानिक पद्धति हो । कृति विश्लेषणलाई वैज्ञानिक वस्तुपरक र वणनात्मक बनाउन शैलीवैज्ञानिक अध्ययन पद्धतिलाई अपनाउनु अनिवार्य छ । यस अध्ययन पत्रमा प्रत्यागमन कथाको कथानक, कथावस्तु पात्र वा चरित्र र भाषाशैलीको अध्ययन गरिएको छ । प्रत्यागमन कथामा मुख्य पात्रको रुपमा रामु र शोभा महिलाको रुपमा चारित्रिक विशेषता सहित यस अध्ययन पत्र तयार पारिएकोछ ।
समस्या
प्रत्यागमन कथाको कथानक पात्र चरित्र र भाषाशैली कस्तो छ ?
उद्देश्य
यस समस्यामा केन्द्रीत भई निम्न उद्देश्य निर्धारण गरिएको छ :
क) कथानक, कथावस्तु
ख) पात्र वा चरित्र
ग) भाषाशैली

अध्ययन विधिः
सामाग्री सङ्कलन :
प्रस्तुत अध्ययन पत्र मूलतः प्रत्यागमन कथामा सीमित हुनाले सामग्री सङ्कलनको मूल आधार स्वयम कथा नै रहेको छ । नासो कथा सङ्ग्रह अन्तर्गतको प्रत्यागमन रहेको छ । स्वयम कथाको बारेमा जानकारी लिने र अध्ययन गरेको हुनाले प्राथमिक स्रोत सामग्रीको प्रयोग भएको छ ।
अध्ययन तथा विश्लेशणको सैद्दान्तिक आधार ः
प्रस्तुत अध्ययन पत्रमा प्रत्यागमन कथासँग सम्बन्धित रहेको हुनाले प्रत्यागमन कथाको विश्लेषण सैद्दान्तिक आधार शैलीपरक रहेको छ । अध्ययनका क्रममा सर्वप्रथम प्रत्यागमन कथाको कथावस्तुको विश्लेषण रहेको छ । त्यस पश्चात पात्र वा चरित्र र भाषाशैलीको रहेको छ । यसमा शेलीविज्ञानको उत्तरवर्ती चरणलाई अपनाएर अध्ययन गरिएको छ ।
पारिभाषिक प्राविधिक शब्दावलीको प्रयोग

विषयवस्तुको विश्लेषण :
शैली विज्ञानको परिचय :
शैली विज्ञानको समालोचनाको नवीनतम प्रणाली हो । शैली विज्ञान र आलोचना प्रणालीको मिश्रण हो । त्यसैले शैली विज्ञानलाई कला र भाषाको समन्वित रुप भनिन्छ । क्ष्सको चर्चा र प्रयोग पूर्व र पश्चिम दुबै साहित्यशास्त्रमा प्राचीन कालदेखि नै हुँदै आएको हो । कृतिको मूल्याङ्कन तथा विश्लेषण गर्ने वस्तुपरक आधार शैलीवैज्ञानिक अध्ययन पद्धति हो । कृति विश्लेषणलाई वैज्ञानिक, वस्तुपरक र वर्णनात्मक बनाउन शैलीवैज्ञानिक अध्ययन पद्धतिलाई अपनाउँनु अनिवार्य छ । कृतिविश्लेषणमा शैलीवैज्ञानिक अध्ययन पद्धतिको अतुलनीय भूमिका रहने भएकाले यस परिच्छेदमा मूलतः शैलीविज्ञानसँग सम्बन्धित शैलीको परिचय, शैलीविज्ञानको परिचय, शैलीविज्ञानको सैद्धान्तिक स्वरूप र कृतिविश्लेषणको शैलीवैज्ञानिक आधारको विश्लेषण गरिएको छ ।
सबै व्यक्तिका भाषा, ध्वनि ,शब्द तथा रचना आदिमा एकरुपता पाइदैन । त्यसैले एउटै भाषामा लेख्ने लेखक वा कविको भाषामा पनि कुनै न कुनै प्रकारको शैलीगत फरक विशेषता हुन्छन् । जसको आधारमा कुनै रचना कसको हो भनेर बताउन सकिन्छ । यस कारण वैयक्तिक शैलीगत विशेषताको अध्ययन नै शैलीविज्ञानिक अध्ययन हो । भाषाका शैलीको व्यवस्थित र वैज्ञानिक अध्ययन नै शैलीविज्ञान हो । शैलीविज्ञान साहित्यिक समालोचनाको नवीनतम् विधा हो ।
शैलीविज्ञान सामान्यतया दूई प्रकारको हुन्छ : 
सामान्य शैलीविज्ञान
साहित्यिक शैलीविज्ञान
साहित्येतर भाषिक शैलीको वैज्ञानिक अध्ययन गरिने विज्ञानलाई सामान्य शैलीविज्ञान भनिन्छ । साहित्यमा प्रयोग गरिने शैलीको अध्ययन गरिने विज्ञानलाई साहित्यिक शैलीविज्ञान भनिन्छ । शैलीविज्ञान विभिन्न प्रक्रिया अपनाएर गर्न सकिन्छ :
१) साहित्यिक संरचना
क)बनोट रबुनोट
२) शैली चयन
अग्रभूमि निमार्ण
विचलन
समानन्तरता
३) भाषा संरचना
ध्वनि व्यवस्था, शब्द व्यवस्था, व्याकरण व्यवस्था
शैलीविज्ञान कुनैै एउटा मात्र निश्चित स्रोतबाट विकसित नभएर विभिन्न ज्ञानानुशासन भाषावज्ञान, साहित्यशास्त्र, साहित्य समालोचना, साहित्येतिहास आदि बाट प्रेरित र प्रभावित भई विकसित भएको हो ।
प्रत्यागमन कथाको कथावस्तु ः
कृति विश्लेषणको प्रमुख आधार कथानक हो । प्रत्यागमन कथाको शैलीवैज्ञानिक विश्लेषण गर्ने क्रममा यस परिच्छेदमा कथानकको विकासक्रमका अतिरिक्त पात्र तथा भाषाको समेत विश्लेषण गरिएको छ ।
कथावस्तु कथामा आवश्यक र महत्वपूर्ण घटक हो । कथानकमा एउटा निरन्तरता हुन्छ। निरन्तरताको एउटै गतिमा गतिशील नहुन पनि सक्छ। कथानकको प्रवाहमा आउने परिवर्तनका आधारमा कथाको खण्ड वा परिच्छेद वा भाग छुट्याएको हुन्छ । प्रस्तुत प्रत्यागमन कथा सुरुबाट रेखिय ढाँचामा नै अगाडि बढेको छ । यस कथामा पाँच भाग रहेको छ । प्रत्यागमन कथा १२ पृष्ठमा संरचित छ । प्रस्तुत कथामा लामा छोटा गरि ६८ अनुच्छेदमा रहेको छ ।
कथाको विकासक्रम : 
आख्यानमा समावेश गरिएको कथानकको गति सिलसिलाबद्ध हुन्छ । विषयवस्तुको उठान भएपछि चरणबद्ध रुपबाट उत्कर्षमा पुगी निचोडमा ओर्लने गरी कथानकले लिएको हुन्छ । पात्रहरुको चर्को सङ्घर्षको तातोपन सेलाउदै आउने छरिएको घटना प्रवाहलाई समेटिने र सगाँल्नेक्रम घटित हुँदा कथानक फलप्राप्तिको दिशामा उन्मुख हुन्छ । सङ्घर्ष तथा द्वन्द्वले बिटमारिसकेको अवस्था कथानक विकासको अन्तिम अवस्था हो । यसलाई उपसंहार भनिन्छ । पात्रहरुको कार्यगत आधारमा मुल्याङ्कन भई परिणाम प्राप्त हुन्छ । कथानकको अन्त्य हुन्छ ।
सारांशः
नासो गुरुप्रसाद मैनाली(१९५७.२०२८) द्धारा रचना गरिएको सामाजिक आदर्शोउन्मुख यथार्थवादी कथाले पारिवारिक समस्यामन आधारित भएर शोभा र निर्मललाई आदर्शवादी चरित्रका रुपमा प्रस्तुत गरिएको छ भने रामुलाई ढुलमुले चरित्रमा रुपमा अघि सारिएको छ । रामु शोभाको सौतेनी देवर भए पनि उनले छारालाई झैँमाया गरेकी छन् ।

रामुको बाल साम्राज्य घर भर फैलिएको छ भने शोभाले उनलाई मातुत्व सुखबाट सिञ्चन गरिरहेकी छिन् । भाउजु भएर पनि अलौकिक मातृत्व प्रदान गर्न उनी सफल छिन् । एम.ए. सी पास गरेर, व्यक्तित्वको पूर्व परिचय दिन सफल रामुका दाजु र भाउजुले उनको प्रसंशा मात्र गरेनन्, आफ्नो विजयोत्सव नै सम्झे ।

एम.ए.सी पास भएको दोस्रो वर्ष घरानीया पंडित उन्मात्तराजले छोरी दिए पछि निर्मलले पूर्खाले नगरेको पुरुषार्थ आफूले गर्न सकेको अनुभूति गरे । बरियात आगमन सँगै निर्मलले आफ्नो भावना अगाडि बढाउनका लागि निरन्तर प्रयास गरि रहे । सारा मानिसले रामुले सात जन्मसम्म पनि शोभाको सेवा गरे कम हुने तर्कहरु अघि सारे ।

विज्ञान विषयका प्रोफेसर रामुले शोभालाई मासिक पाँच सय रुपयाँ बुझाउन थाले । शोभा रामुलाई देवरका रुपमा नहेरी छोराका रुपमिा हेर्थिन् । दाजु भाउजू प्रति उनको सम्मान उच्च नैै थियो । निर्मलकी छोरी बसुधा र छारो हरि पनि रामुलाई असाध्र्य माया गर्थे । यसरी निर्मलको परिवार बढो आदर्शका साथ अघि बढीरहेको थियो । रामुले भाउजूका लागि भान्से र नोकरचाकरको पनि व्यवस्था गरे ।
रामुको ज्ञान, बुद्धि, विवेक, विद्वता आदि राम्रै प्रचारप्रसार भएको देखेर मानिसले टुहुराका पनि दिन फर्कन्छन् भन्ने आशय प्रकट गर्दथे । रामुकी दुलहीको बानी व्यवहारले अब नयाँ सङ्केतहरु द्येखिन थालेका थिए । यो पूर्वाभास निश्चयनै अनुकूल थिएन ।

दुलहीमा सामान्य शिष्टाचार एवम् मर्यादाका गुणहरु कमजोर नै थिए । उनकै सङ्गतले रामुले भाउजूलाई तलब बुझाउन र विनय भाव प्रकट गर्न छाडे । यसले के पुष्टि गर्दछ भने अब निर्मर शोभाको पारिवारिक सौन्दर्य भत्कदै छ । रामु छुट्टिने निर्णयमा पुगे । शोभाले आँशु थाम्न सकिनन् । रामुको चरित्रलाई छिमेकीहरुले समेत उपयुत्त ठानेन् ।

रामु घरज्वाँइ बने । दाजुको सम्बन्ध सकियो । शोभाले मतलबी संसारको परिभाषा बल्ल बुझिन । दुःख सँग निर्क अभ्यस्त निर्मलका घरमा पुनः दुःखकै साम्राज्य फैलियो तर उनी बिचलित भएनन् । आफ्ना नित्यकर्महरुलाई निरन्तरता दिए । दारुण दुःखले कान्तिहीन बनेका बालबालिकाहरुको पौष्टिक आहारा पनि पाएनन् । यसलाई सुखद मान्न सकिदैन् ।
क्थाको उद्देश्यलाई कथाकारले मोड्ने प्रयत्न स्वरुप रामुलाई बिरामी र भाउजूलाई सम्झेको तर्क अगाडि सारेका छन् । रामुको घरको दृश्य विभत्स थियो मानौँ त्यो कुनै नर्क भन्दा कम थिएन स्वास्नी अगतिलि भए पछि लोग्नेको दुर्दशा हुन्छ भने बहकिने लोग्ने भए पछि घरकै दुर्दशा हुन्छ भन्ने कुरा कथाले देखाउन खोजेको छ । कर्म धर्म,मर्म जीवनका सारभूत कुराहरु हुन्।

यी कुरा मानवका मन्त्र नै हुनुपर्छ भन्ने शोभाको चरित्रले पुष्टि गरेको छ । रामुले आरोग्य प्राप्त गर्दै जानुमा शोभाको उपस्थिति निकै अर्थपूर्ण छ भन्ने देखाउन कथाकार एकोहोरिएर लागेका छन् । रामुलाई घर फर्काएर कथाकारले आफ्नो आदर्शवादी अभीष्ट लक्ष्यलाई पुरा गर्ने जमर्को गरेका छन् । धनी हुनुर असल हुनु भिन्ना भिन्नै कुरा हुन भन्ने कुरा दुलही र शोभा मार्फत प्रमाणित गर्ने भरमग्दुप्रयास कथाकारको रहेको छ । यसर्थ यस कथाको अभीष्ट लक्ष्य नै आदर्शवादी स्वरलाई मुखरित गर्नु हो भन्ने स्पष्ट हुन्छ ।

चरित्रका आधारमा प्रत्यागमन कथाको विश्लेषण :
कथाको कथानक काया हो भने चरित्र त्यसको प्राण हो । आख्यानमा पाइने व्यक्तिलाई पात्र भनिन्छ । कथा पनि आख्यान हो । त्यसैले यसमा पनि दृश्य र अदृश्य गरी विभिन्न प्रकारका पात्रहरू हुन्छन् ।चरित्र चित्रणका विभिन्न पद्धतिहरू भए पनि व्यक्ति वा पात्रको वस्तुगत वर्गीकरणका लागि काव्यशास्त्र र भाषाविज्ञानको समन्वयबाट केही आधारहरूको निर्धारण गर्न सकिन्छ । यस्ता आधारमा लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवन चेतना, आसन्नता र आबद्धता मुख्य पर्दछन् ।
प्रत्यागमनकथाका पात्रहरु
मुख्य क्रियाशील पात्रहरु :
अ) रामु
आ) शोभा
२) सहायक पात्र
अ) निर्मल
आ) दुलैबज्यै
३) गौणपात्र
हरि, बसुधा, भरिया, जन्ति
रामु यस कथाको मुख्य पात्र हो । उ पहिला समान्य जनजीवन भएको पात्र भए पनि त्रिचन्द्र कलेजको प्रोफेसर बनेको छ । उनले श्रीमतिको पछाडि लागेर घर त्यागेको भए पनि पछि दुःख पर्दा घर सम्झिएको र पुनः घर नै फर्केको छ । यसलाई समग्रमा हेर्दा मध्यम वर्गीय चरित्रको प्रतिनिधित्व गर्दछ ।

शेभा यस कथाकी प्रमुख नारी पात्र हो । यसको भूमिका यस कथामा नारी प्रमुख रहेका् छ । रामुलाई स्याहारसुसार गरेर हुर्काउने र निम्न वर्गीय महिला गृहिर्णको प्रतिनिधित्व गर्ने पात्र हो ।

भाषिक चयनका आधारमा
कृतिगत शैलीको पहिचान गर्ने र सो आधारमा कृतिको मूल्याङ्कनका निम्ति चयनको भूमिका महत्वपूर्ण रहन्छ । भाषिक एकाइको सुविचारित छनोटलाई चयन भनिन्छ । चयनलाई विभिन्न आधारमा वर्गीकरण गरेर हेर्न सकिन्छ । जस्तै, पर्यायवाची चयन, रूपान्तरणात्मक चयन, वाक्य ढाँचागत चयन, विशिष्ट पारिभाषिक चयन आदिमा लेखकले वर्ण, शब्द वा सङ्कथनको त्यही रूप किन छान्यो भनेर छुट्याउने काम हुन्छ ।
शब्द चयन
यस कथमा अङ्ग्रेजी शब्दहरुको पनि प्रयोग गरिएको छ । नेपाली भाषाले सम्बोधन गर्न सक्ने अवस्थामा समेत अङ्ग्रेजी शब्द चयन गरिएको छ, जस्तै :
कथामा समाविष्ट अङ्ग्रेजी शब्दहरु नेपाली अर्थ
मास्टर- शिक्षक
कलेज- क्याम्पस
प्रोफेस
प्राध्यापक
भाषिक विचलन र समानन्तरताका आधारमा
सामान्य भाषिक व्यवहारमा हुने भाषिक नियमको अतिक्रमण वा मानकेतर प्रयोगलाई विचलन भनिन्छ । विचलन अनियमितता हो, प्रत्यागमन कथामा कोशीय विचलन, व्याकरणिक विचलनको सामान्य चर्चा गरिएको छ ।
विचलनको विपरीत प्रकारको उपकरण समानान्तरता हो । समानान्तरता भनेको प्रयुक्ति नियमितता हो ।
कोशीय विचलन
नयाँ शब्दको निर्माण गर्ने प्रक्रियालाई कोशीय विचलन भनिन्छ । प्रस्तुत कृतिमा पूर्वनिर्मित वा कोशीय शब्दमात्र समावेश भएकाले कोशीय विचलनको स्थिति देखा पर्दैन ।
व्याकरणीक विचलन :
व्याकरणीक विचलन भन्नाले व्याकरणका नियमभन्दा विपरित तवरले प्रयोग गर्नुलाई व्याकरणीक विचलन भनिन्छ ।
१) सुन्न हिँड्नुस् त हामीले कति राम्रो टेलिफोन बनाएका छौँ बाबै !(पृष्ठ ९८ नासो )
२) कस्तो लेलिफोन रामु । (पृष्ठ ९८ नासो )
प्रयुक्ति विचलन
एउटा प्रसङ्गमा प्रयोग हुने भाषा अर्कै प्रसङ्गमा प्रयोग भएमा त्यसलाई प्रयुक्ति विचलन भनिन्छ । यस कथामा कुनै पनि प्रयुत्ति ििवचलनको प्रयोग भएको छैन ।
निष्कर्ष
१. साहित्यशास्त्रमा विकसित भएका विविध धारणाहरूमध्ये शैली पनि एक हो । शैलीवैज्ञानिक पद्धतिको उदय र विकास साहित्यकै भाषापरक अध्ययनका सिलसिलामा भएको देखिन्छ । शैलीविज्ञानलाई भाषाविज्ञानको सहायता लिएर साहित्यको शैलीपरक अध्ययन गर्ने विधाको रूपमा पनि लिने गरिन्छ । शैलीवैज्ञानिक पद्धति भाषापरक र दृष्टि कलापरक देखिन्छ । भाषिक तत्वद्वारा तथ्यको प्रतिपादन वा प्रकाशन गर्ने प्रक्रिया शैली हो । कृतिको शैलीवैज्ञानिक अध्ययन भाषिक व्याकरणिक स्तर र साहित्यिक शैली तात्विक  स्तर गरी दुई स्तरमा हुन्छ । कृतिविश्लेषणका शैलीवैज्ञानिक आधारहरू विज्ञानमा आधारित हुनाले समालोचनाको क्षेत्रमा यो प्रक्रिया वस्तुतथ्यमा आधारित र वैज्ञानिक देखिन्छ ।
२. आधुनिक नेपाली कथाको धरातलमा गुरुप्रसाद मैनालीद्धारा लिखित प्रत्यागमन कथा कथानक, चरित्र, भाषाशैलीका दृष्टिले महत्त्वपूर्ण देखिन्छ । कुल १२ पृष्ठको कथा भए पनि यो कथा आफैमा पूर्ण छ ।
३. यो कथा पूर्ण रुपमा नेपाली समाजको यथार्थसँग सम्बन्धित छ । यसमा प्रयोग भएको भाषाशैली नै प्रमुख रहेको छ । सरल र सहज भएको कारणले सर्बलाई सम्प्रेषणीय रहेको छ ।
४. यस कथामा थोर मात्रामा व्याकरणीक विचलनको प्रयोग भएको छ । नत्र सबै ठाउँमा सामान्य शैलीको प्रयोग भएको छ ।
सन्दर्भ ग्रन्थ सूची:
धामी, खगेन्द्र सिंह र पौडेल, माधव प्रसाद (२०७५), पूर्वीय र पाश्चात्य समालोचना, काठमाडौँ, इन्टलेक्चुअल्ज बुक प्यालेस ।
मैनाली, गुरु प्रसाद(२०७१), नासो, ललितपुर, साझा प्रकाशनको छापाखाना
पन्त, धर्मानन्द, (२०७५), प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र,
ढकाल, शान्ति प्रसाद (२०७५) प्रायोगिक भाषाविज्ञानका प्रमुख क्षेत्र, काठमाडौँ, पिनाकल पब्लिकेसन प्रा.लि ।

तपाइँको प्रतिक्रिया ।