ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको कदर हुन जरुरी छ : उपप्रधानमन्त्री पोखरेल

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको कदर हुन जरुरी छ : उपप्रधानमन्त्री पोखरेल

कपन अनलाइन

काठमाडौं ,असोज १५ ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको कदर हुन जरुरी रहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बिहीबार ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा शुभकामना दिदै  ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको कदर गर्नुपर्ने बताएका छन।

विक्रम सम्वत २०५१ सालमा आदरणीय कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभएपछि नेपालमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्ने कामको थालनी भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले हाल संविधानले नै मौलिक हकको रुपमा ज्येष्ठ नागरिकका हकलाई सुनिश्चितता गरेको उल्लेख गरेका छन  ।

पोखरेलले दिनुभएको शुभकामना सन्देश यस्तो छ 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ‘मनमोहन स्मृति प्रतिष्ठान’ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको दीर्घायू, सु–स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ । संयुक्त राष्ट्रसघंले सन् १९९० डिसेम्बर १४ मा गरेको आव्हान अनुरुप १९९१ अक्टोवर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएकोमा आज हामी यसको अर्को श्रृंखलामा प्रवेश गरेका छौं । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा महामारीमा ज्येष्ठ नागरिकका सवाललाई कसरी हेर्ने र व्यवहारमा परिवर्तन गर्ने (Pandemics: Do they change how we address age and ageing) निर्धारण भएकोमा यसले हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका सन्दर्भलाई उजागर गरेको छ ।

विक्रम सम्वत २०५१ सालमा आदरणीय कम्युनिष्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभएपछि नेपालमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्ने कामको थालनी भएकोमा हाल संविधानले नै मौलिक हकको रुपमा ज्येष्ठ नागरिकका हकलाई सुनिश्चितता गरेको छ ।

आजको यस दिनमा संयुक्त राष्ट्रसंघद्वारा स्थापित ज्येष्ठ नागरिक सम्बन्धी आफ्नो आम्दानी, परिवार, समुदाय र आफ्नै व्यक्तिगत प्रयासबाट आफ्ना आवश्यकता, जस्तै खाने कुरा, पानी, आश्रय, लुगाफाटा र स्वास्थ्यको हेरविचार गर्ने स्वतन्त्रता, ज्येष्ठ नागरिकले एकिकृतरुपमा समाजमा बस्न तथा समाजको भलाइका लागि निर्धारण गरिने नीति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता गराउने तथा उनीहरूको ज्ञान र सीपलाई युवा पुस्ताले ग्रहण गर्नसक्ने ब्यवस्था, ज्येष्ठ नागरिकले आ–आफ्नो समाजको परम्परागत तथा सांस्कृतिक मूल्य र मान्यता अनुसार आफ्ना परिवार र समुदायबाट समुचित हेरविचार र संरक्षणको सुविधा, आफूमा निहित क्षमताको पूर्णरुपमा विकास गर्न उपयुक्त अवसर पाउनुपर्छ र आफ्ना उपलब्धीको पूर्ण अनुशरण गरी निर्भय भएर देश र समाजको सेवा गर्न पाउनु पर्ने तथा ज्येष्ठ नागरिकका शारीरिक एवम् मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्ने कुरामा समीक्षा हुन जरुरी रहेको छ ।

दिगो विकासका १७ वटा लक्ष्यहरू मध्ये गरीबीका हरेक रुपको अन्त्य गर्ने,स्वस्थ्य जीवन, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वस्च्छ पानीको उपलब्धता लगायतका विषयमा ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको कदर हुन जरुरी छ । यस सम्वन्धमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६३ को प्रस्तावनामा उल्ेखित ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्न निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्ने कुरालाई सबैले आत्मसात् गर्न सकौं । अन्तमा, ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।
ईश्वर पोखरेल
अध्यक्ष
मनमोहन स्मृति प्रतिष्ठान

तपाइँको प्रतिक्रिया ।