अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदान र उदासिन बुढानिलकण्ठवासी
कपन अनलाइन
काठमाडौं ,असोज १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को गाम्चामा रहेको जना उदार मावी संगै देखिने बालुवा निकालेर केहि टुक्रे पर्खाल र नगन्य संरचना बनाइएको स्थान हो सुवर्ण शमशेर क्रिकेट मैदान । धेरै पटकहरुलाई लागेको होला कति यो मैदानको लागि स्थानीय संचार माध्यमले शव्द खर्च गरेका होलान ? वा यसको विकास गर्छु भन्ने सपना बेचेर संसद ,प्रदेस सभा र नगर सभाको हलमा बस्न पुगेका गैर जिम्मेवार (!) प्रतिनिधि हरुलाई पनि लागेको होला कति यिनीहरुले खेदिरहेका होलान ? अनि तिनै नेताहरुको अगि पछी लागेर विभिन्न रंग र ढंगका स्वाद चाखेकाहरुलाई लाग्न सक्छ कतै यिनीहरु आफ्ना नेताको विरोधी पो हुन् कि ?
शुरुवाती चरण देखिने यसका वारेमा कलम चलाउदै गर्दा पटक पटक संचार माध्यमले सामना गरेका प्रश्न हुन यिनीहरु र यी प्रायोजित र पूर्वाग्रह पूर्ण प्रश्न सनागी अर्को मूल प्रश्न संगै आइरहेको छ। त्यो प्रश्न हो आफ्नो नगरपालिकाको मुख्य र महत्वपूर्ण भौतिक पूर्वाधार खेलकुद को भन्दा राजनीतिक दम्भ र तुजुक देखाउने मैदानमा परिणत हुँदा पनि किन मौन छन बुढानिलकण्ठ नगरवासी ?
यो मौनता यति गजवको छ कि यसले गान्धीको बाँदर झैँ सुनो देखो बोलो मत भन्ने सिदान्तलाई पो कसिले तरिकाले समातेको हो कि ? वा कतै यति ठुलो पूर्वाधार निर्माणको वारेमा यसका सरोकारवालाहरुले पो जनतालाई गुमराहमा राखेर वर्ष वर्षमा करोडौ रकम बालुवामा बगाएका छन कि ?
सायद यो मैदानलाई केन्द्रमा राखेर यहि बिन्दु बाट व्यापक बहसको थालनी गर्नुपर्ने देखिन्छ । यस मैदानको बेहाल अवस्था र यस क्षेत्रका जनप्रतिनिधिहरुको बेपर्वाह व्यवस्थाको वारेमा हजारौ शव्द खर्च भैसकेका छन । तर पनि ति जनप्रतिनिधिहरु कानमा तेल हालेर केहि नसुनेझै गरेर मस्त निन्द्रामा रहेका छन ।
अनि अचम्मको कुरा यहाँ के देख्न सकिन्छ भने सुतेका जनप्रतिनिधीहरुको घुराइको तालमा बुढानिलकण्ठवासीहरु मस्त नाचिरहेका छन। नगरपालिकाको यति महत्वपूर्ण पूर्वाधारको दुरावस्थाले निकै पोल्नु पर्ने हो तर आफ्ना सन्ततिको भविष्यको समेत कुनै ख्याल नगरी चुप लागेर बस्नु पर्ने लाचार अवस्थामा पुगेका जनताहरु र आफुलाई नगरपालिकाकै बरिस्ट नागरिक भन्ने धमास देखाउने कथित समाजसेवी ,अभियन्ता र अगुवा भन्नेहरुले कतै नबोल्नुलाई निकै अर्थपूर्ण मान्न सकिन्छ।
अनि सो मैदान निर्माणको जिम्मेवारी प्राप्त गरेर करोडौ रकम प्रयोग गरिसकेको सुवर्ण शमशेर प्रतिष्ठानले हाल सम्म एक पताक पनि सामाजिक परिक्षणको सामना किन गरेन ? किन सबै हिसाव किताव पारदर्शी रुपमा सार्वजनिक गरेन ? अनि जग्गा सट्टा भर्ना र यसको संचालन विधि के हो ? र यसमा प्रतिनिधित्व र सहभागिताको अवस्था के हो ? यसका वारेमा पक्कै रकम दिने र हराउने प्रतिनिधिहरुले प्रश्न गर्ने सामर्थ्य राख्दैनन् । यसका वारेमा आवज उठाउनु पर्ने नगरवासीहरुले नै हो तर विडम्बना नगरवासीहरु त्यहाँ सुटिंग हेर्न जान्छन ,मौका मिले फोहोर फाल्न जान्छन तर यसको निर्माण किन भएन भनेर कैसले प्रश्न गर्दैनन।
जब जब यो मैदानमा पुगेर यसको बेहाल अवस्था देखिन्छ त्यस वेला पल पल बुढानिलकण्ठ नगरवासीको लाचारी त्यहाको बालुवा बोकेर (चोरेर !) कतै गैरहेको ट्रको धुवा संगै माथि तिरको पंचकुमारी सामुदायिक बन तिर उडिरहेको झैँ लाग्दछ।
अनि सोहि मैदान बाट चिच्चाएर नगरवासीलाई सोध्न मन लाग्छ के केहि थान सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको लहडपूर्ण र प्रतिसोधपूर्ण नौटंकीका बेजोड कलाकार हुन् बुढानिलकण्ठवासी ? किनकी आफुलाई खेलकुद विकासका हिमायती मान्ने र बेला बेलामा जिम्मेवारी समेत पाएकाहरुको मौनता र आफ्नो लाचारी छोप्न विभिन्न बहानाका रंग पोतेर मुद्दाको रुप फेर्न उद्दत प्रवृतिको सामु जनताले घुडा टेकिसकेको भन्न मिल्ने धेरै दृश्य नियालेर हेर्दा प्रसस्तै देखिन्छ।
रास्ट्रपति ,उपराष्ट्रपति ,पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता, उपप्रधानमन्त्री सहित आठ सांसद र धेरै बहालवाला र पुर्व उच्च पदस्त कर्मचारीहरुको निवास स्थान रहेको बुढानिलकण्ठ नगरपालिकाको जाज्वल्यमान मुहारमा कालो पोतिरहेको यो मैदानको निर्माणका लागि के अव व्यापक जनदवाव सिर्जना गर्नुपर्ने बेला आएन र ? यो प्रश्न अहिले नगरपालिकाका सात वटा सामुदायिक बनमा गुन्जिरहेको छ । हुन त १ लाख ३० हजार भन्दा बढी नगरवासीको मनमा यो प्रश्न गुन्जिनुपर्ने हो र हरेक मंचमा अभिव्यक्त हुनुपर्ने हो तर मदारिले नचाएका चटके झैँ निरिह बनेका नगरवासीले यसलाई उठाउने हिम्मत जुटाउलान ?
पटक पटक र स्थान स्थानमा खोज्दापनि कतै उत्तर नभेटिएको यो प्रश्न संगै यो पंक्तिकार बाट नगरपालिकाका युवा र खेलाडीहरुलाई अर्को प्रश्न के राजनीति र प्रतिसोधको हावाले तपाईहरुको रगत चिसो बनाइसकेको हो ?
आज ,भोलि र नगरपालिकाका सन्ततिले ब्याट र बल बोकेर यस मैदानको क्रिजमा नउत्रिए सम्म यो प्रश्न जारी रहनेछ।