राजबाबु श्रेष्ठ सागरका ‘देशको चिना’ (पुस्तक समिक्षा )

राजबाबु श्रेष्ठ सागरका ‘देशको चिना’ (पुस्तक समिक्षा )

कपन अनलाइन

काठमाडौं ,असोज १२ /ठाकुर शर्मा भण्डारी

१. कवि परिचय
पिता पूर्णबहादुर श्रेष्ठ एवं माता तेजमाया श्रेष्ठका सुपुत्र राजबाबु श्रेष्ठ ‘सागर’ २०२८ सालभाद्र १४ गते ईटाटार १, महोत्तरीमा जन्म भएको हो । स्नातकसम्मको अध्ययन गरेका सागर नेपाली साहित्यको क्षेत्रमा विशेषतः गीत, गजल, मुक्तक, हाइकूमा कलम चलाउनुका साथै अन्यकथा, उपन्यास विधामा कलमच चलाउने व्यक्तित्व हुन् । १४ वर्षकै उमेरमा लेखिएको ‘प्रेम फैसला’ नाटक पहिलो रचना हो र यसको पाँचभाग सम्मको लेखन गर्नु र अभिनयमा उत्तिकै चाख राख्ने सागरले २२ वर्षको उमेरमा ‘घर एक नर्क’ फिल्मको स्क्रिप्ट तयार गरेको र टेलीचलचित्रमा अभिनय गरेको पनि देखिन्छ ।
पहिलो प्रकाशित उपन्यास ‘बन्दफ्रेम  भित्रको चिट्ठी’ हो । यो उपन्यास साउदी अरबबाट २०५७ सालमा प्रकाशित भएको हो । कतिपय किताबहरूको समीक्षा गरी विभिन्नपत्र–पत्रिकामा प्रकाशित भएका छन् ।
२०७७ सालमा ‘हराएका छोराहरू’ (कविता सङ्ग्रह) र ‘देशको चिना’(मुक्तक सङ्ग्रह) सँगै दुई पुस्तक बिएन पुस्तक संसार प्रा.लि.ले प्रकाशनमा ल्याएको छ । नेपाली साहित्यको क्षेत्रमा योगदान दिएवापत कोलमोतेश्वर सहकारी संस्थाबाट पुरस्कार र नोबेल साहित्य प्रतिष्ठानबाट पुरस्कार प्राप्त भएको छ ।
ज्योति साहित्य प्रतिष्ठान, पुष्पपराग साहित्य प्रतिष्ठान, शैली साहित्य समाज, शिवपुरी सन्देश, जनमत र कपन बानेश्वरजस्ता साहित्यिक संस्था एवं पत्रिकाहरूसँग संलग्नता रहेको छ भने उनको ‘तर म आफु लाई मान्छे हुँ भन्छु’ शीर्षकको कविताभने मैथिली, नेपाल, अङ्ग्रेजी, बर्मेली, तामाङ र नेपाली (६ भाषामा) रूपान्तरित भएको छ ।

२.‘देशको चिना’भित्रका मुक्तकहरूको विश्लेषणात्मक दृष्टिकोण
यहाँ चर्चाको विषय हो –पछिल्लो समयमा आएको महत्वपूर्ण राजबाबु श्रेष्ठ ‘सागर’द्वारा लिखित मुक्तकहरूको सँगालो ‘देशको चिना’ । बहुविधामा कलम चलाए पनि सागरका मुक्तक चोटिला– पोटिला भएको कारण पनिभाषा–साहित्यको क्षेत्रमा देखिएको निरन्तरता नै हो । सर्वप्रथम मुक्तक सङ्ग्रहको प्रारम्भको पृष्ठ हेर्दा नै मन छुन्छ ।
मेरी बुढी हजुर आमा दिनहुँ एउटा माला बुन्छिन् ।
उनी धागोमा पूmलसँगै देशका सपनाहरू उन्छिन् ।
निदाउँछिन् सपनाका सिरानी लगाई चेपेर देश ।
ब्युँझेपछि उनी आप्mनै देश सम्झेर धुरुधुरु रुन्छिन् । (पृष्ठ ११)
कति सुन्दर छ मुक्तकको मुक्तभावना । देशप्रतिको भावनालाई एउटी आमालाई प्रतीक बनाएर सुन्दर ढङ्गबाट अभिव्यक्ति दिइएको छ । यसभित्र रहेका सबै मुक्तक यस्तै चतुष्पदीय र पहिलो, दोस्रो र चौथोमा अन्त्यानुप्रास रहेको छ र तेस्रो अनुप्रास मुक्त छ ।
यसरी लेखिएका मुक्तकहरूको विषयमा पनि विविधता रहेको छ । यसको मूल शीर्षक ‘देशको चिना’ले पनि विविधता देखाउँछ । देशमा देखिएका विविध पक्ष वा समस्यालाई लिएर नै कवि भावना व्यक्त भएको देखिन्छ ।
यसभित्रको समस्या, आरोहावरोह, उचनीचको भावना, राजनीतिक सन्दर्भ, सांस्कृतिक पक्ष आदिले देशको सन्दर्भ लिइएको छ । कसैको व्यक्तिगत चिनामा जसरी एउटा व्यक्तिका कुराहरूलाई ग्रह, लग्नअनुसार चिनाउन खोजिएको हुन्छ, त्यस्तै यहाँ देशलाई वा देशको अवस्थालाई चिनाउन खोजिएको
छ । तसर्थ ‘देशको चिना’ शीर्षक छानिएको अनुभूति हुन्छ ।
यस अर्थमा शीर्षक सार्थक रहेको देखिन्छ । यसै शीर्षकलाई छोएर लेखिएको एउटा सान्दर्भिक मुक्तक हेरौँ, जसले यथार्थ स्थितिको बोध लाक्षणिक रूपमा गराउँछ ः
लौ न ए ज्योतिषीबा ! मेरो देशको भाग्य हेरिदेऊ ।
साढे सात खड्ग छन् भने अर्को रेखा कोरिदेऊ ।
त्यतिगर्दा पनि हाम्रा देशका दशाहरू टर्दैनन् भने
च्यातिन लागेको मेरो देशको चिना नै फेरिदेऊ । (पृष्ठ २१)
यसमा दुई सय दश मुक्तक रहेका छन् । मुक्तक भनेको नै चार पङ्क्तिमा च्वाट्ट मुटु छुने गरी विषयलाई उठान र बैठान गर्न सक्नु हो । त्यो सागरका मुक्तकमा भएको पाइन्छ । यस भित्रका मुक्तकमा अनेकौँ विषय लिइएको छ । जसमा सय वर्ष नाघेका राष्ट्रकविलाई सम्झिने क्रममा सुन्दर भावना व्यक्त भएको छ :
राष्ट्रकविले आज सय टेक्नु भो खुसी लाग्छ ।
बाँच्दै आपूmले ऋतम्भरा लेख्नु भो खुसी लाग्छ ।
यमराजको अखडाबाट कुस्ती लडी फर्किएर
आफैले शताब्दी बनेको देख्नु भो खुसी लाग्छ । (पृष्ठ ११)
अरूको सेवा गर्ने मानिसलाई भगवान् देख्ने विचार र स्वाभिमानका विचार पोखिएका मुक्तकमा एउटा उदाहरण हेरौँ ः
आफु  कहिल्यै नझुक्ने स्वाभिमान जस्तो लाग्छ मलाई ।
भाषा – संस्कृति देशको पहिचान जस्तो लाग्छ मलाई ।
आफ्नो  भाग काटी दुःखी र भोकाहरूलाई खुवाउने
जो कोही हुन् उनीहरू भगवान  जस्तो लाग्छ मलाई । (पृष्ठ २४)
जो आए पनि देशमा कुनै परिवर्तन भएन, जुनजोगी आए पनि कानै चिरेका जस्ता अनेक उखान–टुक्काको पनि प्रयोग मुक्तकमा भएको छ भने जसभित्र क्षमता छैन त्यस्ता पालेर पोसेर कुनै कामलाग्दैन । मानिस आफै म यस्तो हुँ भनेर वा मानवले मानवको सेवा गर्न सक्छ । केही पनि गुदी नभएका व्यक्तिलाई ठाउँ मात्र दिएर सुध्रिने छैन भन्ने कुरालाई यसरी व्यक्त गरिएको छ ः
गधा पोसेर हात्ती कहिल्यै त्यो हुनै सक्दैन ।
भ्यागुतो उफ्रेर आकाश कहिल्यै छुनै सक्दैन ।
धेरै देखिए मनको सफा छु भन्नेहरू पनि
छातीबाट मुटु निकालेर कसैले धुनै सक्दैन । (पृष्ठ ३६)
जिन्दगीको भावना कतिपय मुक्तकमा व्यक्त भएको छ । जिन्दगी सुखमय पनि छ दुःखमय पनि छ अर्थात् जिन्दगीमा कहिले खुसी, कहिले आँसु र कहिले रमझमको अवस्था आउँछ र च्यातिएको जिन्दगीलाई सिउन नसकिने कुरा विषय बनेका छन् । जिन्दगी हेर्ने दृष्टिकोण मुक्तककारको आफ्नो  हो । मृत्यु जीवनका परम सत्य हो, समय भएपछि कोही यहाँ रहनेवाला छैन । मुक्तककारले अनुभूत गरेको जिन्दगीको व्याख्या अनेकार्थक रूपमा पनि यसरी आएको छ :
नेपथ्यमा रोएर बाहिर हाँसेको के जिन्दगी
रहर सबै मारी माया साँचेको के जिन्दगी
मनभित्र पिरैपिरको आँसुको सागरमा
मुटुमाथि ढुङ्गा राखी नाचेको के जिन्दगी (पृष्ठ ४१)
यस सङ्ग्रहमा सबै मुक्तकहरू उत्कृष्ट छन् भन्ने होइन । सरल भाषाको प्रयोग छ । कतिपय साधारण अर्थमा अभिव्यक्त वा भावनात्मक उचाइ छुन नसकेको हो कि ! भन्ने पनि अनुभूति पाठकलाई हुन
सक्छ । जस्तै :
प्राज्ञहरूबाट साहित्यका घोर निन्दा राम्रो हुन्न ।
सहनै नसक्ने गरी प्याच्च भनेर हिँड्दा राम्रो हुन्न ।
सधैँ सम्मानित भएर बसेका सबैका हृदयमा
घृणित भएर हरामी बनेर चिन्दा राम्रो हुन्न । (पृष्ठ ४७)
प्रेम र भावनामा पनि सागरका मुक्तक अनेक रहेका छन् । प्रेममा पनि देशप्रेम वा प्रकृति प्रेम, व्यक्तिगत प्रेममा पनि अभिभावकीय प्रेम वा पति–पत्नीको प्रेमलाई धेरै मुक्तकमा विषय बनाइएको छ । अभावग्रस्त जीवनमा प्रेम पनि अपुरो अधुरो बन्छ भन्ने सन्दर्भलाई यसरी व्यक्त गरिएको छ :
मलाई ऊसँग टाढा हुनुपर्ने कुनै चाहना थिएन ।
तर उनीसँग छुट्टिनु पनि त कुनै वहाना थिएन ।
मनका महलभित्रै सजाइराखेँ केवल उनीलाई
कसरी स्विकार्नु म चाँदीकोसम्म गहना थिएन । (पृष्ठ ६८)

३. विषयान्तमा
हाम्रो पहिलेको समाज कति सुन्दर थियो, भावनात्मक सुन्दरता देखिन्थ्यो, सबैलाई सम्मान गर्ने भावना थियो तर अहिले समाज छाडा भएको छ । आफ्नो  अस्तित्व आफै बचाउन नसककेको
देखिन्छ । माया–बिछोडका कुरा, दम्भ–अभिमानले मात्तिएको र भाग्यलाई सर्वोपरि ठानेर हेरिने वाभाग्वादी दृष्टिकोणका विषयलाई विभिन्न मुक्तकमा व्यक्त गरिएको छ । जन्मनु र मर्नुको बीचको जिन्दगीको स्थिति, धर्म–संस्कृति प्रति अगाध प्रेम, आमा–बाबुको छोरा–छोरीप्रतिको व्यवहार र छोरा–छारीको आमाबाबु प्रति गरिने व्यवहार, राजनीतिक क्षेत्रका व्यक्तिहरूले गर्नुपर्ने कर्तव्यबाट विमुख भएका विविध सन्दर्भहरू, महिलाप्रति गरिएका क्रियाकलापहरू र महिलाले गर्ने असान्दर्भिक क्रियाकलापहरूलाई विषय बनाइएको
मात्र होइनकि समाजमा देखिने निकृष्ट धारणा छुवाछुतजस्ता कुरा पनि आएका छन् विषय बनेर ।
मुक्तककारको देश समाजप्रतिको धारणा स्पष्ट रूपमा देखिएको छ । अर्थात् समाजप्रति देखिएका विविध घटनालाई निकटबाट हेर्ने गरेको प्रयास मुक्तकहरूमा देखिन्छ ।
कतिपय मुक्तकहरू अत्यन्त सरल भएर पनि सुन्दर अभिव्यक्ति र लक्षणा एवं व्यञ्जना शक्ति भएका मुक्तकहरू देखिन्छन् । उपर्युक्त उदाहरण स्वरूप देखाइएका मुक्तक धेरै छन् र पाठकलाई आकर्षण गर्ने शक्ति राख्छन् ।
मुक्तककारको सकारात्मक सोच रहेको कारण पनि आफ्नो  मनको धारणा स्पष्ट आएको छ । यस्तो सुन्दर र महत्वपूर्ण कृति नेपाली भाषा साहित्यको फँटमा प्रदान गर्ने राजबाबु श्रेष्ठ ‘सागर’प्रति धन्यवाद दिँदै आप्mना कवितात्मक भावना व्यक्त गर्दछु र यो सङ्क्षिप्त लेखन टुङ्ग्याउँछु । राजबाबु श्रेष्ठ ‘सागर’प्रति मेरो भावना यस्तो रहेको छ :
राजबाबु स्वयं एक सकारात्मक सोचमा
श्रेष्ठ छन् अभिव्यक्तिमा ‘सागर’ कृतिभित्रमा ।१।

कतै मुक्तकका भाका देश– समाजनिम्ति छन्
कतै ती प्रेममा बोल्छन् ‘सागर’ निम्ति चित्र छन् ।२।

धेरैमा नम्रता मिल्छ कतै विद्रोहको स्वर
उर्लिन्छ भावना यस्तो देखिन्छन् उच्चतातिर ।३।

कविता–जिन्दगी साथ हिँडेका देखिने हुँदा
प्रकृति–चेतना–मूल्य–मान्यता देख्छु तीव्रता ।४।

चिन्ता छ देशको पूरा समाजचित्र खुल्दछ
कल्पनाभित्रको चित्र हृदयभित्र मिल्दछ ।५।

विधाविविधमाचल्ने नाटकक्षेत्रमा पनि
अभिनय–कला–भित्रआख्यानतिर छन् उनी ।६।

स्रष्टाको सृष्टि सौन्दर्य बढून् उन्नत साधना
बर्सियून् शब्दका बिटा बधाई शुभकामना ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।