भद्रबस्तीका चार जनाले कोरोना जिते , भन्छन् “ सामाजिक खोप ” ले गर्दा नै कोरोनालाई जित्यौ

भद्रबस्तीका चार जनाले कोरोना जिते , भन्छन् “ सामाजिक खोप ” ले गर्दा नै कोरोनालाई जित्यौ

कपन अनलाइन

काठमाडौं ,भाद्र २८ /शिरिष पौडेल

कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने कुरा यतिखेर प्राय सबै मुलुकहरुको सरोकारको विषय बनेको छ । स्वास्थ्य क्षेत्रमा सबैभन्दा अब्बल छु भन्ने राष्ट्रहरु पनि यतिखेर यसको समाधान नभेटेर कठिन स्थितिबाट गुज्रदै छन् । रुस लगाएतका मुलुकहरुले कोरोना विरुद्दको खोप बनाए भन्ने कुराले यतिखेर बजार तताएको छ ।

समग्रमा यतिखेर सबैजसोको मनमा एकै थरी प्रश्न छ , “ कोरोना भाइरस विरुद्द हामी कसरी लड्ने होला ? ” “ कोरोना लागिहाल्यो भने निको चाँहि के गरेर हुँने होला ? ” हालसम्म कोरोना भाईरस विरुद्दको कुनै पनि आधिकारीक खोप वा औषधी नआएको अवस्थामा भद्रबस्तीका चारजनाले भने “ सामाजिक खोप ” को मद्दतले कोरोना भाइरसमाथि विजय प्राप्ति गरेका छन् ।

के हो त “ सामाजिक खोप ” ? केहि दिन अघि भद्र बस्तीमा बस्दै आएका ४ जना व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भयो । संक्रमणको सिकार बन्न पुगेका एकजना भन्छन् , “ म कोरोना भाइरसबाट संक्रमण भए भनेर थाहा पाएपछि सुरुमा त छाँगाबाट खसेको जस्तो लाग्यो । यो भाइरसले मेरो स्वास्थ्य स्थितिलाई कस्तो बनाउने हो र मलाई अब समाजले कसरी हेर्ने हो भन्ने कुराले मलाई पिरोल्यो ।

अर्का २ संक्रमितपनि आफु संक्रमणको सिकार भइसकेपछि आफु बस्ने ठाँउमा होम आइसोलेशन बनाएर बस्ने ठाँउ पर्याप्त नभएकोले अब कहाँ बस्ने होला भन्ने कुराले चिन्तित थिए । उनीहरु दुवैजना पनि समाजले आफुलाई कसरी हेर्ने हो भन्ने कुराले चिन्तित थिए । उनीहरु संक्रमित छन् भन्ने कुरा समाजमा बाहिर आएपछि समाजको प्रतिक्रिया उनीहरुले सोचेभन्दा केही फरक आयो ।

यो कुरालाई भद्रबस्तीका मान्छेहरुले सजिलै स्विकार गरे । होम आइसोलेशनका लागी पर्याप्त ठाँउ नभएका दुई संक्रमितले त्यहि ठाँउको टोल सुधार समितिका अध्यक्ष शिव कुमार कार्कीले आफ्नो घरमा नै आइसोलेशनमा बस्ने व्यवस्था मिलाई दिए । त्यहि ठाँउमा भाडामा बस्दै आएका संक्रमितका अनुसार पनि उनलाई केहि नराम्रो व्यबहार गरेनन् । पहिला भन्दा झन् सहयोग गरे ।

उनीहरु आइसोलेशनमा बस्दा त्यहाँका छिमेकिहरु कसैले पनि उनीहरुलाई टाढा राखेनन , एक्लो महसुस हुन दिएनन् । दैनिक रुपमा उनीहरुलाई भेटेर उनीहरुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिए , हौसला दिए । दैनिक रुपमा नै उनीहरुको प्रत्यक्ष निगरानी राखेर उनीहरुलाई चाहिने सहयोग गर्दै यो रोग सँगको लडाईमा हामी सबै जना छौँ है भन्ने कुरा जानकारी गराईरहे । १७ दिन सम्म समाजको र वडाको निगरानीमा बसे पश्चात उनीहरु अन्ततः संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त भएपश्चात उनीहरुलाई दैनिक जिवनमा स्वागत गर्दै हिजो एउटा सानो अनौपचारिक कार्यक्रम गराएर भद्र बस्ती टोल सुधार समितिले बधाई ज्ञापन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा उनीहरु निकै खुसी देखीन्थे । वडाको र समाजको सहयोगले गर्दा आफु संक्रमित भएको अनुभवनै नभएको र यो रोग विरुद्ध को लडाइमा समाज र वडाको सहयोगको लागी धेरै आभारी रहेको पनि उहाँहरुको भनाई छ । त्यही कार्यक्रमको क्रमामा बुढानिलकण्ठ वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले निको भएकाहरुलाई बधाई दिदै सबै मिलेर अघि बढेमा मात्र तो रोग सँगको लडाईमा विजय हासिल गरिने बताएका छन् ।

यस रोग सँगको लडाइमा वडा पनि सचेत रहेको र आगामी दिनमा कोहि संक्रमित भएमा उनीहरुको लागि कुनै किसिमको सहयोग गर्न पनि पछि नहट्ने बताएका उनको भनाई छ ।

भद्रबस्तीका संक्रमितले समाजको सहयोग , सद्भाव  र प्रेरणाले गर्दानै कोरोना संक्रमण बाट मुक्ति पाए । वडा कार्यलय लगायतका सम्बन्धित निकायहरुको परामर्श र सहयोगको कारणले नै निको भए । अहिलेको स्थितिमा संक्रमितलाई छि छि दुर्रदुर्र नगरीकन समाजमै राखेर आत्मविश्वास बढाउनु , स्वास्थ्य बानी अपनाउन मद्दत र प्रेरित गर्नु नै यो रोगको उपचार गर्नु हो । कुनै पनि बैज्ञानिक खोप नबनेको अवस्थामा यो नै कोरोना भाईरस सँग लड्ने औषधी हो ,“ सामाजिक खोप ” हो ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।