दुख्दै छ यो वर्तमान : त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाडौं ,भाद्र १०।
१. छैन प्रेम झगडै झगडा छ
माथि–माथितिर नै लफडा छ
राजनीतिकिन यो गति छाडा ?
काट्छ के त सुखले अब डाँडा ?
२. कुर्लिएर म त अब्बल भन्छ
पुग्छ माथि अति जब्बर बन्छ
हिँडन थाल्छ बनिँदै अति साँडे
धान खेत यसरी कति फाँडे ?
३. आउँनेछ गतिलो दिन भन्ने
स्वर्ग बन्छ जग यो पनि भन्ने ?
सुख्ख दिन्छु नभने पनि हुन्थ्यो
साधु सन्त नबने पनि हुन्थ्यो ।
४. आउँदा त कतिहो कति जाती
एकछत्र सबका सब साथी
तान्न थाल्छ पछि त्यैँ तलकोले
पेल्न थाल्छ अनिझन् बलकोले ।
५. पर्छ पर्छ जहिल्यै अतिद्वन्द्व
सन्ग्लिएन् कहिल्यै परिबन्द
भन्छ मात्र म छु है अति बाठो
बन्न सक्छ जनता कति लाठो ?
६. आर्तनाद पहिरो पुरिनेको
भोक रोग संगमा उभिनेको
घाउमा मलमको लिइजान्छ
चोर्छ लुट्छ कसले दिइजान्छ ?
७. दीनहीन मन झन् चिरिँदैछ
शक्तिहीन जनता पिरिँदैछ
त्रास नै छ दुनियाँ लुटिँदैछ
झन् युवा जगत भुट्भुटिँदैछ ।
८. भन्न मिल्छ कहिले कति राम्रो
देख्न मिल्छ कहिले अति राम्रो
छाउला प्रगतिको गति राम्रो ?
आउला कि कहिले मति राम्रो ?
९. हुन्छ हुन्छकहिले सबकाम?
बन्छ बन्छ कहिले जग धाम?
छुन्न राजनीतिको म त डोरो
भन्छ, पुग्दछ कता? अब छोरो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक