पूर्वका ९ जिल्लामा आज पनि बन्द

नयाँ संविधानमा आफ्ना मागको स्पष्ट सम्बोधन हुने ग्यारेन्टी नभएको भन्दै विभिन्न समूहले गरेको बन्दको श्रृंखला आज पनि जारी छ । संघीय लिम्बुवान राज्य परिषद्को सञ्जुहाङ्ग पालुङ्वा समूहले पूर्वका ९ जिल्लामा आज पनि बन्द छ । बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्थुमलगायत जिल्लाका यातायात, कलकारखाना र उद्योगधन्दा ठप्प छन् । उता, संखुवासभा नटुक्राउन माग गर्दै गरिएको बन्द आठौंैंैं दिन पनि जारी छ । राज्य पुनर्संरचनाको प्रस्तावमा संखुवासभालाई तीन टुक्रा पारिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

बृहत मधेशी मोर्चाको आह्वानमा गरिएको मधेश बन्दले सातौं दिन पनि तराईको धनुषा, जलेश्वर, सिरहा, सप्तरी, रौतहटलगायत जिल्ला प्रभावित बनेको छ । ११ प्रदेशको खारेजी र समग्र मधेश एक स्वायत प्रदेश संविधानमा सुनिश्चित गर्न माग गर्दै मोर्चाले मधेश बन्द गरेको हो । बन्दकै क्रममा आज सिरहाको लहानमा कान्तिपुर र अन्नपूर्ण पोष्टको गाडी तोडफोड गर्दै पत्रिका जलाइएको छ । कान्तिपुरको गाडी पत्रिका लिएर बर्दिवास जाँदै थियो भने अन्नपूर्ण पोष्टको गाडी इटहरीबाट पत्रिका लिएर बर्दिवास जाँदै थियो ।

जातीय राज्यको विरोध र अखण्ड मध्यपश्चिमको मागसहित आह्वान गरिएको मध्यपश्चिम बन्द आज १५ औं दिन पनि कायमै छ । उता, सरकारले अखण्ड सुदूरपश्चिमसँग गरिएको सहमति विपरित आदिवासी र थारु संगठनसँग सहमति गरेको भन्दै त्यसको बिरोधमा आजदेखि फेरि सुदूरपश्चिम बन्द गरिएको छ । विभिन्न समूहको लगातारको २७ दिने बन्दले प्रताडित कैलाली र कञ्चनपुर हिजोबाट खुलेपनि आज फेरि बन्द भएको हो । पहाडी जिल्ला भने एक साताअघि खुले पनि तराई बन्दको कारण जनजीवन सामान्य हुन सकेको थिएन । सरकारले अखण्ड सुदूरपश्चिमसँग गरेको सम्झौताको उल्लंघन गर्दै एकल जातीय राज्यका पक्षमा निर्णय गरेको भन्दै बन्द आह्वान गरिएको हो । सरकारसँग हिजो १० बुंदे सहमति गरेपछि वैशाख तेस्रो हप्तादेखि आन्दोलनरत थारु संयुक्त संघर्ष समितिले भने आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

तपाइँको प्रतिक्रिया ।