रुबीभ्याली गाउँपालिकाको एकीकृत विकासको काम अगाढी बढ्यो : मन्त्री रामेश्वर फुयाल
कपन अनलाइन
धादिंग,श्रावण २९ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फूयालले धादिङको रुबीभ्याली गाउँपालिकाको एकीकृत विकासको काम अगाढी बढेको घोषणा गरेका छन् ।बागमती प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिका मध्य विभिन्न सूचाङ्कका आधारमा रुबीभ्याली गाउँपालिका कम विकसित देखिएकोले प्रदेश सरकारले यस गाउँपालिकालाई एकीकृत विकासको योजना ल्याएको समेत मन्त्री फूयालले बताएका थिए ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन नाथ नेपालको सभापतित्वमा धादिङबेसीमा भएको रुबीभ्याली एकीकृत विकास परियोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री फूयालले भाद्र महिनामा रुबीभ्याली जोड्ने बोराङ र लापा जाने आँखु खोला पुल र झर्लाङ पहिरो फेदिमा अर्को गरी दुईवटा पुलको टेण्डर हुने समेत बताएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा संघीय सांसद खेम लोहनी, प्रदेश संसादहरु जगत सिंखडा, डा. रामकुमार अधिकारी, डा. राजाराम कार्कीले रुबीभ्यालीको विकासका लागि बनेको बृहत योजनालाई संघीय सरकार र प्रदेश सरकारले गम्भिर रुपमा लिनु पर्ने बताएका थिए ।नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलले रुबीभ्याली अहिले कम विकसित देखिए पनि त्यहाँ भएका स्रोत र साधनलाई सरकारले उपयोग गर्ने नीति ल्याउन सके रुबीभ्याली मात्र नभै समग्र धादिङ जिल्ला आर्थिक रुपमा सम्पन्न हुन सक्ने बताएका थिए ।
यस्तै नेपाली काँग्रेसका सभापति रमेश धमलाले जनप्रतिनीधिहरुले साना तीना काम मैले गरेको भन्दै सस्तो लोकप्रियता तिर हिड्नु भन्दा सबैको जनप्रतिनिधि भएको आभास दिँदै प्रतिपक्ष दलको समेत राय लिने र राम्रा कुराहरुलाई योजनामा राखेर अगाडी बढ्न सुझाव दिएका थिए । सभापति धमलाको रुबीभ्यालीलाई पर्यटन सँग जोडेर नै विकास गरिनु पर्ने तर्क रहेको थियो ।रुबीभ्याली गाउँपालिकाका गाडी चालकलाई कोरोना पोजेटिभ देखिए पछि प्रमुख र उप प्रमुख दुबै जनाको स्वाव परिक्षणमा पठाएको र रिपोर्ट नआएको कारण उक्त कार्यक्रममा सहभागि नभएपछि रुबीभ्यालीको गाउँपालिकाको परिचय सहित वडा नम्बर २ का अध्यक्ष पेम्बा घलेले कार्यपत्र प्रस्तुत गरेका थिए ।