सामाजिक दुरी कायम गर्दै गोकर्णेश्वरमा गाइजात्रा पर्व मनाइयो

सामाजिक दुरी कायम गर्दै गोकर्णेश्वरमा गाइजात्रा पर्व मनाइयो

कपन अनलाइन

काठमाडौँ, श्रावण २० । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्रा पर्व काठमाडौं उपत्यका र अन्य जिल्लमा पनि मनाइएको  छ ।काठमाडौंको  गोकर्णेश्वर नगरपालिकाका नेवार समुदायले पनि सामाजिक दुरी कायम गर्दै गाइजात्रा पर्व  मनाएका छन।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइएको थियो  र  उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए  । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहदै आएको छ  ।

यो वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो गाइजात्राको रौनकता कम देखिएको स्थानीय लाक्स श्रेष्ठले बताए   । कोरोना भाइरसको महामारीका कारण यस वर्षको गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन सरकारले अनुरोध गरेको  थियो ।जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न गरेको अनुरोध लाइ मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि  गाइजात्रा मनाइएको  उनले बताए   ।

धार्मीक मान्यता अनुसार गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायमा प्रचलित गाइजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानी शोकका कारण विक्षिप्त बनेकी थिइन् । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनि सान्त्वना दिन उक्त पर्वको सुरुवात गरेको ऐतिहासिक तथ्यमा उल्लेख गरिएको छ ।

राजा प्रताप मल्लले वर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरेका थिए । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमााडौं दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विर्सिएकी थिइन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अंक प्रकाशित गरिन्छ ।

फोटो : लाक्स श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।