रिटर्नी माइग्रेन्ट नेपालद्वारा दुवै मृगौला पिडित बालकलाई आर्थिक सहयोग

रिटर्नी माइग्रेन्ट नेपालद्वारा दुवै मृगौला पिडित बालकलाई आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं ,साउन २०।

एघार बर्षिय दुवै मृगौला पिडित बालकको उपचार सहयोगार्थ रिटर्नी माइग्रेन्ट नेपालले आर्थिक सहयोग गरेको छ । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका वडा नम्वर ७ स्थायी बसोबास भएका केदारनाथ अधिकारीका एघार बर्षिय छोरा सन्दिप अधिकारीलाई सँस्थाले श्रावण १६ गते छब्बीस हजार सात सय पचास रुपैयाँ सहयोग गरेको हो ।

केहि समय अघि बालकका परिवारले उपचार सहयोगको लागि आर्थिक सहयोग उपलब्ध गराउन भन्दै अपिल गरेको थियो । सन्दिप अधिकारीको दुईवटै मृगौलाले काम नगर्ने भएपछी बिगत एक बर्षदेखि उनको परिवार नियमित उपचारमा लागेको छ । छोराको उपचारकै लागि केदारनाथले भए भरका सम्पत्ति जमानी राखी कर्जा लिएको र त्यो पनि सकिएपछी रकम अभावका कारण छोराको उपचारले निरन्तरता नपाउने अवस्था उत्पन्न भएकोले सहयोगको लागि अपिल गरिएको परिवारले बताएको छ ।

उपचारको लागि काठमाडौंमा एउटा कोठा भाडा लिएर बसेका यो परिवारले कसैले सहयोग नगरिदिने हो भने कोठा भाडा समेत तिर्न सक्ने अवस्थामा छैन । कयौंपटक पछी पैसा तिर्नेगरी अस्पतालमा कागज गरेर सन्दिपलाइ डिस्चार्ज गरेको दयनीय अवस्था समेत रहेको पाइएको छ।

एकदिन बिराएर नियमित डाइलासिस गर्दै आइरहेका सन्दीपको तुरुन्त मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरले बताएपनि त्यसको लागि आर्थिक जोहो हुन सकेको छैन । यहि पिरले अधिकारी परिवार अहिले छटपटाइरहेको बेला रिटर्नी माइग्रेन्ट नेपालले अन्य संघसँस्थालाइ समेत सहयोग गर्न प्रोत्साहन मीलोस् भन्दै आर्थिक सहयोग गरेको हो ।

तपाइँको प्रतिक्रिया ।