देवादिदेब महादेव :हेमा सुवेदी (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १७ ।
गीत हो ऊ
कालजयी गीत
उ कहिल्यै मर्दैन
श्रावणमा उसको स्वर अझ कोकिल हुन्छ
ऊ जति टाढा बसेर गुनगुनाओस्
उसको गीतहरू मेरो कानमा गुन्जिरन्छ
कहिले चरिको चिर्बिर आवाज बनेर
कहिले झरिको झिरझिर स्वरुप बनेर ।
चित्र हो ऊ
संसारकै सर्वोत्तम चित्र
प्रकृतिको तमाम रङ्हरू पोखिएको छ उसमा
गौर गरेर हेर्नू मात्र पर्छ
उसको आँखाहरूमा सगर देखिन्छ
उसको ओठहरूमा गुराँस भेटिन्छ
हो
ऊ मेरो नशा नशामा बगेको छ
ऊ मेरो मुटुको क्यानभासमा सजिएको छ
श्रोत हो ऊ शक्तिको अजस्र श्रोत
उसलाई सम्झनु मात्र पर्छ
मेरो रक्तप्रवाह बढ्न थाल्छ
वेदनाले थिचिएको काँध चौडा हुन्छ
उमेरले धमिलो आँखाहरूमा नयाँ चमक आउँछ
हो
ऊ मेरो मुटुमा खोपिएको ताम्रपत्र हो
ताम्रपत्रमा खोपिएको
ऊ गीत हो
सङ्गीत हो
स्वप्निल चित्र हो
ऊ शक्ति हो महाशक्ति हो
देव हो देवादिदेव महादेव हो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक